कवितासाहित्य

नम्रता ‘संस्कार’ शर्मा का दश रुबाई

(1)

प्रीतको बाटोमा काँड़ा राख्ने समाजको प्रथा छ
काँड़ा टेकी बिछोड़ सहनु यो कस्तो व्यथा छ
दुई किनार नदीका हामी, तिमी कहाँ म कहाँ
तिम्रो मेरो साँचो प्रेमको छुट्टै एउटा कथा छ ।

(2)

मुखभरि मह बोकी ढाड़ चिल्नेको शहरमा
गाह्रो छ टिक्न आफन्त नै नमिल्नेको शहरमा
माया गरी औंलीले गाँस खुवाउँ भन्दा
पाखुरा तानी डुँड़ुँला नै निल्नेको शहरमा ।

(3)

 

प्रेमी नजरले नहेरेसम्म रूपको महत्व खुलेको हुँदैन
सौन्दर्यमानै हुन्छ मोहनी भमरा त्यसै डुलेको हुँदैन
फूलको पनि त हुन्छ चाह अजम्बरी प्रेममै बाँच्ने
सित्तैमा ओइलाई झर्नलाई फूल पनि त फुलेको हुँदैन ।

(4)

एकमात्र होइन टोली खेल्छ
हाम्रो भावनाको होली खेल्छ
आन्द्रा भुड़ी हाम्रो बुझ्नेहरूले
हामीलाई घुमाई-घुमाई गोली खेल्छ।

(5)

एक्लै हुनु भन्दा शत्रुले घेरेको राम्रो
जग्गा फेर्नु भन्दा मन फेरेको राम्रो
अरूलाई मात्र नराम्रो भन्न अघाड़ि
आफ्नै मुख ऐनामा हेरेको राम्रो ।

(6)

चिया श्रमिकको नाम नसोध
टोकरी हेरी उसको काम नसोध
हत्केलाका खियाँहरू देखी-देखी
कति छ कामको दाम नसोध।

(7)

चिनेको सबैलाई आफ्नो भनिँदैन
सबै मायालाई साँचो गनिँदैन
मर्छन् हजारौं मुमताजहरू यहाँ
सबैको नाममा ताजमहल बनिँदैन।

(8)

मनको कल्मष धोएर हेर
कसैको घाउलाई छोएर हेर
आँसु किन नुनिलो हुन्छ
आफै कहिले रोएर हेर।

(9)

इमानको ढिकुटी कस्ले लुट्न सक्छ
अभागी निधारको पनि दशा छुट्न सक्छ
पसिनाका धाराहरूले सिंचेर त हेर
बञ्जर भूमिमा पनि मूल फुट्न सक्छ।

(10)

जून तारा जति हेरौं आफ्नो हुने होइन
घामको तापले पोलेर हिमाल रूने होइन
जति उफ्रे पनि पाइला भूईंमै टेक्नुपर्छ
बाँस बड़ेर कहिलै आकाश छुने होइन।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!