कवितासाहित्य

दिलमाया

फुलबुट्टे सपनाहरूको कोशेली,

शहरको झिलीमिली सपनाहरू बोकेर

गाउँको अभेक वन-पाखातिर

सुटुक्क भेट्न आउने अनाम राजकुमार

हिजोआज दिलमायाको दिलभित्र बस्छ ।

 

राजकुमारसित जादुको छड़ी छैन

तर त्यो जादुगरभन्दा कम छैन

दिलमाया जे-जे सपना देख्छे, विपना बनाइदिन्छ

दिलमाया जे जे छुन्छे, आफ्नो बनाइदिन्छ।

 

हरेक मधुमास

वन-पाखाका न्याहुलीभन्दा मनमोहक बंसी फुक्छ राजकुमार

दिलमायाले घर-संसार बिर्सन्छे

दिलमाया शरम- संस्कार बिर्सन्छे।

 

यस्तै संसार बिर्सिएको कुनै पल

राजकुमारले आफ्नो शरीरको पर्फ्यूमी सुगन्ध

दिलमायामा सुटुक्कै सारेको हो ।

 

त्यसै बेलादेखि

दिलमायालाई गाउँ-घर गह्नाउन थालेको हो

दिलमायालाई वन-पाखाले बिझाउन थालेको हो ।

झिलीमिली बलेको चिल्लो सड़कमा

महङ्गो कारमा हुइँकिदै

राजकुमारको छातीमा निदाउने चाहनाले

दिलमाया निदाउन छोड़ेकी हो ।

 

राजकुमारलाई सम्झँदा

दिलमाया घर-छिमेकसित रिस गर्छे

शहर सम्झँदा

दिलमाया गाउँ-घरलाई गाली गर्छे।

 

निकै दिनपछि एक दिन

अबेर साँझ

जगंलमा खाली डोको भेटियो

अनि दिलमाया हराई।

 

फेरि

निकै दिनपछि एक दिन

खबरकागजको नक्सामा देखा परी

अनुहार लुकाइरहेकी दिलमाया।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!