निरूपणसमीक्षासाहित्य

कवि गणेश छेत्रीको बन्धकी आमा : पाठकीय दृष्टिकोण

नम्रता 'संस्कार '

भारतीय नेपाली साहित्यमा, कविता विधाको आफ्नै विशेषता छ अनि कविहरूले पनि आ-आफ्नै भावहरूले कविता साहित्यलाई सजाएका छन्। किनकि वरिष्ठदेखि सिकारू कलम अनि अग्रज अनुजहरूको आफ्नो आफ्नै वैशिष्ठयले सजिसजाउ छ नेपाली साहित्य। साहित्यका विभिन्न विधाहरूमध्ये कविता विधाको माध्यमबाट साहित्यलाई टेवा पुराउने कविहरूको माझमा पाउन सक्छौं हामी कवि गणेश छेत्रीलाई। आफ्नो भावको पोखरीमा निरन्तर डुबुल्की मार्दै साहित्य सृजनामा लागिपरेका छन् कवि गणेश छेत्री।
2014,सालमा नै आफ्नो पहिलो कविता संग्रह ‘भोलिको उज्यालो’ साहित्यलाई उपहार दिई सकेका गणेश छेत्रीको दोस्रो कविता कृति ‘बन्धकी आमा’ पनि 2018 मा नै पाठकहरूको हात लागिसकेको कृति हो अनि आज उपरोक्त कृतिलाई पाठकीय दृष्टिकोणमा हेरौँँ न यसरी –

कहाँ छौ आमा तिमी
कहाँ छौ भन?
सञ्चो छौ कि बिसञ्चो छौ
कस्ती छौ तिमी कुन्नि
थाहा छैन मलाई
तिमीलाई खोज्दा खोज्दा
म त बुड़ो भइसकेछु
डुब्नलागेको घाम झैं
अस्ताउन पो लागेको छु। (बन्धकी आमा )
आमाको पिड़ाले मन नपोलेको आज कुन कविलाई होला। शब्दगत थुँगाहरूले कविताको माला गुँथ्ने क्रममा आफ्नी जन्मदिने आमाको ममताको छहारीसंगै आफ्नो भू-भाग, आफ्नो बासभूमि आमाको आफ्नै कथा व्यथाले रूवाएको छ सबैलाई ।आज यहाँ हरेकदिन कविताहरूको जन्म हुँदछ भने हरेक कविताले कहिँ न कहिँ अस्तित्व र चिनारीको शंखघोष गरेकै हुन्छन्।अझ कवि गणेश छेत्रीका कविताहरूको कुरा गर्दा यस संग्रहभित्र उनका प्राय कविताहरूनै दार्जीलिङको अवस्था र व्यवस्थाहरुको बिवशतामा रोएका छन्। बन्धकी आमा, अचेल हाम्रो शहर, कसको लागी, कञ्चनजङ्गा ,आदि कविताहरू यसै लहरभित्र पर्न सक्छन्।
अचेल हाम्रो शहरको
हाल खबर कस्तो छ भनेर
मलाई सोधेको होइन?
के भन्नु तिमीलाई साथी
हाम्रो शहरको हालखबर
त्यति राम्रो छैन, सञ्चो छैन
विसञ्चो छ वेरमाइलो छ (अचेल हाम्रो शहर )

नाटक विधाबाट साहित्यमा प्रवेश गरेका कवि गणेश छेत्रीले आफ्ना दुईवटा एकांकी संग्रह ‘रोटी ‘ र ‘दिशा ‘ साहित्यमा सुम्पिसकेका हुन्। तथापि कवितालाई पनि आफ्नो एक प्रिय विधा मान्ने कवि गणेश छेत्रीले आफ्नो कविता लेखनमा, कविता बुनोटका बुंदाहरूलाई होशियारीपुर्वक प्रयोग गर्ने प्रचेष्टा प्रशस्तै गरेका छन्। कहीँँ कहीँँ भावहरूले ठाउँ छोड़ेजस्तो गर्दै गरे पनि कोही पङ्क्तिहरूमा भने उनका शब्दहरूको बेजोड़ कारीगरीले सृजनाको ओजन बड़ाएको देखिन्छ। अन्तरमनमा तीर लाग्ने उनको कविताको एउटा पध्यांश हेरौँँ ।

यो लोकमा अन्याय – अत्याचार
शोषण, भ्रष्टाचार र
अराजकता अन्त गर्न
भएन मानवजातिको हीत
र भलाई
एवं चिन्तित भएर बाँच्ने
एउटा मानिस बौलाहा हुनुपर्छ
कि त एक चिन्तक
कवि हुनुपर्छ। (बौलाहा )

अन्यको व्यंग्य प्रहारले धार लागेका उनका कविताहरू, शब्द शैली, भाव र अभिव्यक्तिले स्वच्छन्द, पखेटा चाल्दै कविको सृजनाको गगनमा विचरण गरेका छन्। चिन्तनशील अनि लगनशील कवि गणेश छेत्रीले संसारिक, सामाजिक, पारिवारिक जीवनका हरेक आयामहरूलाई कविताको बीज बनाएको देखिन्छ। दार्जीलिङ पहाड़की रानीको मुटुभरिको माया, चौरस्ताको गरिमा अनि कवि भानुभक्त आचार्यको न्यानो स्मृतिहरू पनि कहीँँ तितो सत्यको झटारो बन्दै त कहीँँ खुशीका फूल गुच्छहरू बन्दै भावमा उर्लेका छन्।

नेपाली भाषाले चिरकालसम्म
जोड़िरहनेछ गाँठो सुत्रको
यसैले तिमीलाई छेक्न कसैले
पहाड़ बन्ने दुःसाहस गरे पनि
भानु, तिमी उज्यालो छर्न
उदय हुनेछौ यो लोकमा
हरेक बिहान सूर्य बनी। (भानु तिमी )

वर्तमान समयमा कविताका भावभङ्गी विचारधाराहरू आ-आफ्नै तौर तरिकामा रचिन्दै, सजिन्दै, निख्रिन्दै र तिख्रिन्दै प्रवाहित भइरहेको समयको रफ्तारभित्र कवि गणेश छेत्रीका कविताहरू पनि गति पक्रिन तल्लिन देखिन्छन्। उत्कृष्ट अनि निम्न कुनै पनि मापदण्डदेखि पर राखेर उनको कविताका भावपक्षहरूलाई उचाइमा राख्न सकिन्छ। तुलनात्मकताको कसौटीमा उनका भावहरूले प्रमुख तत्वको प्रतिनिधित्व गरेका छन्।

एक एकवटा ईंटा मिलेर
बनेको एउटा पक्का घरजस्तै
शब्दशब्द जोड़ेर
स्वार्थी, एकलकाँटे, कपटी
धूर्तहरू बस्ने गाउँमा
सबै घरबारनै ध्वंस बनाउनसक्ने
एउटा निर्दय तुफान ल्याउनसक्ने
कविता लेख्न मनपर्छ (यस्तै कविता लेख्न मनपर्छ )

कविता संरचनामा स्वच्छन्दता, भावोभिव्यक्ति, सरलता, देशभक्ति र मातृभूमि प्रेम अनि जीवन दर्शन कवि गणेश छेत्रीका कविताहरूमा प्रशस्त झल्केका छन्। कविताका विषयवस्तु उनले आफ्नै दैनिक यात्राका दृश्यावलोकन, हेराइ, भोगाइ अनि अनुभवका कण कणहरूलाई जोरेर खिपेर बनाएका छन्।तथापि प्रायजस्तै कविताहरूमा उनले बातचीत गरेसरह ‘भएन’ शब्दको प्रयोग धेरैचोटि दोहोऱ्याएको पाइन्छ। सुनिरहनेलाई त यो गाह्रो होइन तर कति पाठकहरूलाई भने यसले अनौठो बोध गराउन सक्छ, यसमाथि भने कविले भविष्यमा अलिक विचार गरेको राम्रो मेरो व्यक्तिगत अनुभवमा। तर भावले जितेको उनका कविताहरूले पाठकहरूको मन पनि जित्ने नै छ।

प्रचण्ड गरमको याम होस
वा पुस माघको तिख्खर जाड़ो होस
आफ्नो भोक तृष्णा मेटाउन
जब कतै अनावश्यक
श्रम बेच्न बाध्य भएको देख्छु
तब…..
चितामा जल्दैगरेको लाससरह
मेरो छात्तीभित्र पनि
भत भत मुटु जलेको
महसूस गर्छु (प्रश्न मेरो यो देशलाई )

प्रकृति प्रेमदेखि आमाको माया, माटोको माया, मातृभूमि प्रेम र देशभक्तिका उद्गारहरू पनि उनका कविताहरूमा समयका बुलन्द आवाज बनेका छन्। बन्दुकको टुप्पोमा ज्यान प्राण बाजी राखी गाँस र बासकोसम्म टुङ्गो नराखी देशप्रेममा होमिएका गोर्खाहरूको विरक्त सपना र यथार्थहरूलाई उनले टिपेका छन्। कोही आफ्नो माटोको निम्ति ,कोही आफ्नो चिनारीको निम्ति अनि कोही देशकै निम्ति शहीद बनेका बीर सपूतहरुलाई उनले यसरी सम्झेका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!