समीक्षासाहित्य

एक अर्थ्याइमा वासुदेव पुलामीको ‘आधा अर्थ’

-अर्जुन प्रधान, नागरी।

ख्रीष्टाब्द २०२० वर्ष जाँदैगर्दा यता भारतीय नेपाली साहित्य जगतमा एउटा फरक तवरले काव्यकृति प्रकाशित भएर आयो। यस काव्यकृतिका कृतिकार हुन् – वासुदेव पुलामी। उनको कृतिको नाउँ रहेको छ – आधा अर्थ। यसै त, प्राध्यापक वासुदेव थापा पुलामी एकजना प्रखर समीक्षक, लेखक, एकजना सिद्ध सम्पादकको हिसाबले हाम्रा साहित्यमा मान्य गर्नेहरूको ठूलै सङ्ख्याभित्र हामी पनि छौँ।  काव्य सृजना पनि तर उनको अर्को गम्भीर पक्ष छ जसलाई उति नै मान्य गर्नुपर्ने हुन्छ। अहिलेलाई उनको यही कविता कृति आधा अर्थ- को आफ्ना तर्फबाट थोरै केही विमर्श विवेचन गर्ने, थोरै केही मूल्याङ्कन गरिहेर्ने धृष्टता यो छ।

यस्तो लाग्छ- सर्जकले आफ्ना सृजना कृतिको नाउँ नै आधा अर्थ पारिदिइकन पाठकहरूको पठन-विपठनमाथि आफ्नो सर्जकीय अर्थ्याइ थोपिदिने अर्थको अर्कोतिरबाट पाठकहरूले कैयौँ थोकहरू अमान्य गर्दै पाठकीय अर्थको मार्ग नै एकमेव मार्ग मान्न सक्ने जोखिमको खेलदेखि स्वयंलाई र पाठकलाई पनि जोगाएका हुन्। त्यसो हुँदा , त्यो एक झमट्को अध्ययनमा आफूले अर्थ्याउन जमर्को लिएका अर्थताका बूँदाहरूलाई पनि उही अनेकान्तता, उही अर्थको अर्धताको आलोकमा हेरियोस् भन्ने आग्रह अगाडि पारिन्छ। उसो त सारा कुराहरूपलिम्पसेस्टजस्तै छन् साहित्यमा – नयाँ विचारहरू, नयाँ वादहरू, नयाँ प्रयोगहरू थपिँदै जाँदा पुरानो ठहर भएका थोकहरू पछि सर्दै जाँदा ती कुराहरू अर्ध-सत्य थिएछन् लाग्छ। विषयहरूका बारम्बार पुर्नलेखन् भइरहन्छन्, तिनका अर्थहरूमाथि पुनर्विचार चलिरहन्छन् अनि बहुलवादी वैचारिकीहरूले जन्म लिइरहन्छन्। अब विमर्शको पृष्ठाधारमा यिनै परिप्रेक्षाहरूलाई आरूढ गराइनकन ‘आधा अर्थ-का पृष्ठहरू पल्टाउने एउटा दुस्साहस गरिन्छ।

सङ्गृहित कविताहरूलाई सर्जकले आठवटा वर्गमा वर्गीकृत गरिकन पेश गरेका छन् – (क) सेल्फपोट्रेट (ख) प्रकृतिविम्ब (ग) घर र देश (घ) जीवनचित्र (ङ) मान्छे (च) प्रेम पोट्रेट (छ) इतिहास अनि (ज) अन्य कविताहरू। यस रीतले कुल ४० वटा बहुआयामेली वैचारिकीका काव्य सृजनाहरू आधा अर्थ लिएर कृतिमा लहरबद्ध छन्।

आत्मचरित्र- सेल्फ पोर्ट्रेट खण्डअन्तर्गत पर्ने कविका व्यष्टिपरक पाराका कविताहरूमा म जन्मँदा, रिङगाडी र सपनाहरू, गुँड आदिले हामीलाई स्वत खिच्छन्। पहाडको एउटा अत्यन्त मोहक ग्रामाञ्चलमा कविको जन्म भएको कालखण्डमा प्रकृतिको काखमा हरियाली व्याप्त परिवेशजस्तो रहेको हुँदो हो भनेर आज उनी सम्झना गर्छन्। लहलह खेतबारी, आँगनको फुलबारी, सिकुवाको संस्कृतिमा आफू त्यसरी जन्मन पाएकोमा त्यो मीठो समयको चाहले उनी आज अति पुलकित हुन्छन्। यसरी आफू जन्मँदाको परिवेश चित्रण यस कवितामा कविले गरिदिँदा हामी पाठकलाई कसोकसो इन्द्रबहादुर राईको जन्म हुँदा उनी बालासनको बगरमा टुनीको रूखबाट सोझै झरेर आएको रोमाञ्चकारी विवरणको सम्झना आलो भएर आउँछ।

अगाडि बासुले उनका बाल्यकालका अत्यन्त सुनौला अत्यन्त रूपौला रमाइला दिनहरूको सम्झना सङ्गालेर ल्याएका छन्। साना साना साथी सङ्गी दौँतरीहरू रिङगाडी गुँडाउँदै दौडिहिँडेका, हरिया चउरतिर बुर्कुसी मारेका उफ्रीपाफ्री गरी गरी बाल्यकाल बितेका अनि आज उमेरको धेरै परको यस कुइनेटोमा आइपुगेर फर्केर हेर्दा मनका अन्तरकुन्तरमा थकथकी उठेका अनि त्यसताकका ती सुकुमार सपनाहरू आज आएर रिङगाडीको गोल गोल शुन्यसरि हुनगएका कटु यथार्थ बयान् गर्ने कविका पङ्क्तिहरू साँच्चै सराहनीय छन्। जीवनको त्यो रमाइलो बेला कसरी सुइत्तै बितेर गएको होला अनि आज बुझेर ल्याउँदा तिनै बाटाघाटाहरू, तिनै गौँडा र गल्छिँडाहरू कस्तरी जोखिमपूर्ण छन् र कस्तरी जोगिएर हिँड्नुपर्दो रहेछ भनेर स्वयं उनी चकित छन्। आज ठाउँ ठहर उही उही रहे तपानि जीवन अर्कै भएको छ, समय अर्कै अर्कै आएको छ भनेर कविका पङ्कितहरूले यसो भनेका छन् –

बाटाहरू त्यहीँ छन्हाँ हामीले छाडेका थियौँ

साथीहरू ठुटे कता कता

………………………………………..

रिङ्गाडी छैनन त्यस बाटामा

र छैनन् ससाना हल्लाहरू

त्यसैले

बाटामा न् खाडलहरू

बाटामा छन् अनेक धरापहरू

…………………………….

संसार कति

कति छिटो बद्लिएको

रिङ्गाडीजत्रै गोलो गोलो ठुलो शुन्य हात हातमा थमाइराखेर।

-(आधा अर्थ, पृ २२)

सपनाहरूमा पङ्ख चलाउन थालेपछि बचेराहरू उड्दछन्, गृहत्यागी हुँदछन्, गुँड रित्तो पारिराखेर अन्तै कतै पुग्छन् र अन्तै गुँड पनि लगाउँछन्। बचेराका जन्मदाता मातापिताहरू गुँडमा निरन्तर तपिरहन्छन् एक्लै पर्छन्। उनीहरूले अनुभवले पाकेर जानेका छन् – बचेराहरूलाई उड्न दिनुपर्छ र तब नै तिनीहरूका पङ्ख बलिया हुन्छन्। उनीहरू नित्य हिँडिरहनुपर्छ, हिँड्नाले मात्र लक्ष्यमा पुगिने हुन्छ। हिँड्नु नै जीवन हो, नहिँड्नु मृत्यु। हिँड्नलाई हाम्रा पयरहरू छन्, नत्र भने ता जरा लाग्थे होलान्। यस हिसाबाले कविताका पङ्क्तिहरूले अघाडि जीवनका रीत बताएका छन्, कटु यथार्थका राग अलापेका छन्, ऋतु ऋतुका रङ्गहरू दर्साएका छन्।

पङ्ख फिँजाएर उड्ने प्रसङ्ग उठ्दै जाँदा जीवन चित्रभित्र पत्कर-सम्म पुग्दा कविलाई हिँड्नु र उड्नुको पछिल्तिरका अरू अरू अनुभवहरू फेला पर्छन्। उनका कविताले छेऊकुना राखेर हिँड्ने कुरा बताएका छन्। उडेर आकास छुँदा पनि जरालाई बिर्सन नहुने, भुँइलाई भुल्न नहुने भनेका छन्। अहङ्कारको आडमा, दम्भ र दर्पको बलमा इकारसको उडान उड्नेहरू कसरी तुरन्तै भूमिसात हुन्छन्, धुलिसात हुन्छन् त्यो ज्ञान जानेर उड्नु नै बुद्धिले उड्नु हो भनेर कविताका पङ्किहरूले जोड हालेका छन्।

काव्यकृति आधा अर्थ– का सर्जक स्वयं प्रकृतिको काखमा जन्मेका हुर्केका बडेका प्रकृतिका पुत्र हुन् र प्रकृति पारिस्थितिकीसँग उनको यति प्रगाढ सान्निध्य छ कि उनले प्रकृतिविम्बका आधा दर्जनजति कविताहरू यस खण्डमा छुट्याएका छन्। प्रकृतिविम्बका उनका काव्यलोकमा बर्खाका भेलहरू हेलिएका छन्। पार्वत्य भूमिमा वर्षेनी होइरहने अतिवृष्टि, भल-पैरो, गाउँठाउँ, बाटाघाटा र तिनका कच्चा स्थिति हिले ग्याजग्याजीहरू, बर्खे झरीको महारुदन, गैरा घरेहरूलाई पैराको भयले भयभीत पारेका स्थितिबोध, असार र साउन हुँदैहुँदै पहेंलपुर हेमन्त र माघमा पर्ने मीन पचासको कठ्याङ्ग्रिने ठिही अनि वर्षको विदावारी जस्ता यावत् थोकहरूका वाहक यी कविताहरू स्वयं प्रकृतिका पर्याय पाइन्छन्। यसरी प्रकृतिविम्बका पृष्ठहरूमा स्पष्ट गरेर सुन्न सकिने उर्लँदो असारका गडगडाहट अनि उस्तै साउने झरीका राग मेघ मल्हार अन्त्य चाखपर्दो संगम छन्। वासुकै विम्ब एउटा टिपिहेरौँ,

रुखका पातहरू सरररर… बजाउँदै

हुरीको बाँसुरी फुकेर…

आधारातदेखि एकनास

राग मेघ मल्हार…

भिरमा घर हुनेहरू पनि

पीरमा नै सुनिरहन्छन्

बर्खाको एकनासे सङ्गीतमय शास्त्रीय रागहरू…

झररर…झररररररररर, झऱऱऱऱ

झररर झररररररररर झरररर

झररर झरररररररर झरररर….।

  • (आधा अर्थ, पृ ३६)

बर्खायामको यो सङ्गीत र जीवन सङ्गीतको सामीप्य बडो सहज र सुन्दर तवरले दर्साउने पुलामीका यी पङ्कतिहरूले हामी पाठकलाई कसो कसो खैंचेर बीरेन्द्रका उस्तै राग रागिनीका वाहक यी पङ्कतिसम्म पुऱ्याइदिन्छन् नै –

ना गिड, धाधागिडगिडधाधागिडगिड

गिडगिडगिडगिडधा, गिजगिडधा

गिडगिडगिडगिडगिडगिडगिडगिड

धागिडगिडगिडगिडगिडगिडगिडगिडधा बर्खा।

                – बीरेन्द्र

हाम्रा जीवन र जगतमा यसरी आँधीबेहरी र हुरीका ताण्डव र तिनका उथुलपुथुल सिध्याएर बर्खा बित्छ। सर्वत्र शान्तिको सन्नाटा व्याप्त हुन्छ अनि आउँछ महिना दिसम्बर। कठ्याङ्ग्रिने शीत र तुषारापातको चिसो याम। पुलामीको काव्यलोकमा दिसम्बरको दृश्य पनि उतिकै आकर्षक फेला पर्छ। दिसम्बरले कविलाई वर्ष बित्दै गएको नयाँ वर्ष आउँदै गरेको सम्झना गराउँदा मनभरि कुरा खेल्ने गर्छ। आफ्नो अत्यन्त सुन्दर शीतल थल पहाडी गाउँ छाडेर तल तल समतल देश मधेशलाई कर्मथलो तुल्याउनु परेपछि त्यहाँको शहरमा सर्नु परेपछि, त्यहाँको प्रचण्ड घाम र आगोसरि गर्मी, त्यहाँको पसिना र प्यासले हो कि कति चाँडै केश फुलेर सेताम्मे भइसकेछ थाहै नभएको, ज्ञान भने पलायो कि पलाएन त्यो पनि पत्तो नपाएको कुरो हामी थाहा लिन्छौँ। शहरको संस्कृतिले गाँज्दै लैजाँदा गाउँघरमा आफुले नसुनेको नजानेको अनेकवलीका रोगादि व्याधिसँग परिचय भएको तिक्त सत्यता पनि पुलामीका पङ्कितहरूमा भेटिन्छन् –

यसपालि यस्तै भयो

केशहरू निकै फुले

बुद्धि फुल्यो फुलेन …थाहा छैन

ङ्गरा पलायो

बुद्धि लालो पलाएन …थाहा छैन,

प्रेसर, सुगर, कोलेस्ट्रोल, युरिक एसिड, ग्यास्ट्रिक, अल्सर, स्पन्डलाइटिस…

इत्यादि भन्ने शब्दहरू

पहिलोपल्ट यही सहरमा आएर सुनेँ मैले।

                        -(आधा अर्थ, पृ. ४४, ४५)

कृतिको इतिहास खण्डमा आएको छ मगरजोङ-को कैरन्। मगरहरूको किल्ला- मगरजोङ अबलाई नाउँको ध्वनि मात्रै शेष रहेको छ बाक्केहरूमा भनेर कविताले विमर्शको उठान् गरेको छ। आज यस नाउँसित टाँस्सिएर रहेको मगर जातिको इतिहास, संस्कृति र सभ्यताको कुरो सहीसँग उत्खनन् भइरहेको समय छ। कविलाई लागिरहन्छ श्रेष्ठ संस्कृति, मौलिक सभ्यता इतिहासको कुन कुइनेटोमा लुप्त हुन गइकन आज यस जातिको शौर्य़को निशानी यो नाउँमात्रै डायनोसोरको जीवाश्म सदृश थाँती रहिरहेको छ। धूमिल इतिहासमा पृष्ठहरूमा यस भेगका अनेकौँ गाउँ ठाउँ, खोलानाला, थुम्काथुम्कीको नाउँ मगर भाषामा रहेको सम्भावना जताइएको पाइन्छ पनि। कालान्तारमा मगरहरूका यस्ता थाँतथलो र किपटका कुराहरूमा इतिहासले गुल्चे गरेर हुनसक्छ, तीहरू पुरिएर अहिले निशानी पनि भेट्नै गाह्रो परिहेको अवस्था छ। त्यसैले कविता बोलेको छ –

कुत्सित इतिहासको अराजक पन्नाहरूले

मेरा नामका अक्षरहरूमा कुहिरो लगाउँछ

मोसो दल्छ

धुवाँ लगाउँछ।

  • (आधा अर्थ, पृ १०३)

इतिहासको एक गरिमाशाली अध्यायको, एक सौर्यशाली जातिको श्रेष्ठ संस्कृति र सभ्यताको उत्खनन हेतु अबलाई एउटा कठिन दायित्व वर्तमानका सचेत युवा समुदायको बलियो काँधमा आइसकेको स्पष्ट देखिन्छ र आउला एक दिन बाक्के फेर कैरन् खोतलिने डिजिटल काल जहाँनेर डब्लुडब्लुडब्लु मगरजोङ डटकम – ले एउटा उथुलपुथुल मच्च्याउला- कवि विश्वस्त छन्, लेखेका छन्,-

कतै गीत गाइहाल्लान् कि…

मगरजोङले आफ्नै नाम काडेर।

 ( आधा अर्थ, पृ १०५)

 

कवि पुलामीको अन्य कविताहरू खण्डमा पुग्दा हामी भाषाको शक्ति कतिसम्म हुन्छ त्यो थाहा लिन पुग्छौँ। शब्द नै ब्रह्म हुन् – हाम्रो शास्त्रले भनेको छ। उता बाख्तिनले त यतिसम्म भने कि हाम्रो जीवन भनेकै हाम्रो बोली हो, शब्द हो, हाम्रो भाषा हो। हाम्रा कविले पनि शब्द-शक्तिको महिमामण्डन गरेका छन् र मिच्ने मिचाहाहरूलाई लाखेस् गर्दै हाम्रा सबैथोक खोस्न सकौला तर यो बोलीलाई मिच्न थिच्न सक्दैनौ भनिदिएका छन्। हुन पनि यो बोलीको सौन्दर्य, यसको मिठासबारे यति राम्रा राम्रा कुराहरू भनिएका छन्, सुनिएका छन्, कि त्यसो र नै कविले भाषाको शक्ति नाउँ पारेर कविता सृजना गरे होलान्। यस संसारको सबभन्दा सुन्दर वस्तु भनेको मान्छेको बोली नै हो –भनेकी छन् अमेरिकी कवयित्री अन्ना ह्याम्प्सटेड ब्रान्चले। अनि निर्माण गरिने यस्तो विरल पङ्क्ति-

God wove a web of loveliness

Of clouds and stars and birds,

But made not anything at all

So beautiful as words

-Anna Hampstead Branch

हामीले हाम्रो यै बोलीको विष र यै बोलीको अमृत रसका बातहरू कति कति बोलिएका सुनेका छौँ, गीताङ्गेले कथेका सुनेका छौँ। प्रसङ्गमा दुई लहर यी यहाँ उभ्याउन मनासिब नै हुनजाला लाग्छ–

कोई बोलीमा रस हुन्छ कोई बोलीमा रिस

यै बोलीले गर्दा पिउँछन् मानिसले विष।

  • गीतकार पुरण गिरी।

 

त्यसरी सुरमा सूर मिल्न जाने कवि पुलामीको पङ्क्ति अलिकति झिकेर हेरौँ–

यतिखेर

म मेरो भाषाको शक्ति सम्झिरहेको छु

जो मैले मेरो आमाको गर्भनालबाटै सिकेर आएको हुँ।

  • (आधा अर्थ, पृ– ११६)

 

सर्जक पुलामी पूर्खा स्मरणको महात्म्य मान्ने सर्जक हुन् र नै उनको सङ्ग्रहमा इष्ट देवताजस्तो उत्कृष्ट कविता सङ्कलित हुन पुगेको पाइन्छ। हाम्रा अग्रज पूर्वजहरू हाम्रा इष्ट देवता हुन् – मानेका छन्। आफ्नो समयमा उनीहरू श्रमजी‍वि थिए, पसिनाको खोला बगाउँथे, अन्नपात उमार्थे, प्रकृतिपूजक थिए, प्रकृति उनीहरूको जीवनको पर्याय थियो। कस्तो न्यानो समय उनीहरूको थियो- बारीका कान्लाहरू अन्नवालीले लहलह हुन्थे, गाईगोठहरू गहना सदृश थिए, परेवापङ्खीले आँगन ढाकेका हुन्थे। उनीहरू आफ्ना अन्नबालीहरू सुजला सुफला शश्य श्यामला भइरहुन् भनिकन अनि आफ्ना लालाबाला, शाखासन्तान, छरछिमेकी, गावैँको रक्खे होस् भनिकन प्रकृतिको शरणमा जान्थे, जलदेवता, थलदेवता, सिमेभूमे, नागनगेनी, बनको बोज्यू, नयाँ र आइताबारेको मानमनितो गर्थे अनि ऋतु ऋतुमा उँधौली र उँभौली मान्न भुल्दैनथे। उनीहरू त अब इथिहास भए अनि कविलाई लाग्छ, उनीहरूसँगै हाम्रो सामुहिक सह पनि गयो क्यार! आज समय अर्कै आयो। हाम्रो पालामा मकै छ डालामा। बारीका कान्लाहरू बञ्जर भूमि भइदिए। हामी आफ्नै जराको मेलो पहिल्याउन नसकी अल्मलिएका छौँ र बिस्तारोसँग हराउनेको देशमा बिलाउने बन्न लागिरहेछौँ। कविका पङ्क्तिहरूले बोलेका छन्–

तिम्रै सासको डोरीलाई

समातेर भनिरहेछु

हे जिज्यू-राज्यु

राहनी है राहनी

यो डोरीलाई

रक्खे गर है रक्खे गर।

  • (आधा अर्थ, पृ ११०)

(राहानी– मगर जातिमा कुलपुजा हुँदा कुलकुलाइनलाई आह्वानगरिने शब्द)

 

अघि नै भनियो, वासुदेव पुलामी यता भारतीय नेपाली साहित्यका एकजना सशक्त समीक्षक, साहित्यिक विश्लेषक र सम्पादक पनि हुन्। उनको गद्य लेखनले धेरै नै बौद्धिक पठनको माग गर्दछ। भारतीय नेपली साहित्ममा आएको नवलेखनको एउटा प्रमुख धार समावेशी लेखनका एकजना प्रवर्तक रहेका छन्। यता उनका काव्य सृजनामा भने उनलाई हामी उही अनुपातमा सहज, सरल अनि सुबोध भेट्दछौँ। स्वजातीय श्रेष्ठ संस्कार र उच्च एवं विज्ञानी परम्पराका प्रबल पृष्ठपोषक पुलामीका काव्य सृजनामा त्यसतर्फका सचेत प्रवृष्टिहरू पर्याप्त छन्। हाम्रो आफ्नो अस्तित्व र अस्मिताको पृष्ठाधार नै हाम्रो लोक संस्कृति र लोक दर्शन हो र त्यतातिर हामी क्यै गरी पनि अनुत्तरदायी भइरहन सक्दैनौ भन्ने बलिष्ठ बिचारका धारहरू उनका सृजनामा वेगवान बनेका पाइन्छन्। उनका कविताको प्रकृतिबारे केही भन्नुपर्दा हाम्रा विद्वत समालोचक एव कवि सुधीर छेत्री एकास्थानमा लेख्छन्–

लयात्मक, प्रकृतिमय र स्वभावत ग्रामकेन्द्री कविताहरूमा मानव संवेदना, समसामयिक जीवन, स्वजातिक संस्कार र परम्पराप्रतिको सचेतता अनि तादृश आक्रोशरहित विनम्रताको उपस्थितिका कारण कविताहरूले पर्याप्त मुलायम काया वहन गर्नसकेका छन्।

– सुधीर छेत्री

आधा अर्थ – का स्वनामधन्य सर्जक वासुदेव पुलामीका कविताहरू खास गरी सरल प्राकृतिक जीवन विम्बका पर्याय छन्, ग्राम्य परिवेशका हरियाली प्रकृति बनस्पति माझमाझै अस्तित्वान् जीवन प्रणालीका संवाहक छन् अनि त्यसो र मनलाई ताजा तुल्याउने बान्कीका छन् भनेर भनिदिँदा कति पनि अतिश्योक्ति होइजाला भन्ने लाग्दैन। यति कुरा कविकै आग्रह अनुरूप कि कविताका आस्वादनमा पाठकहरू स्वतन्त्र रूपमा सहभागी बनून् – कै आडमा भनियो।  अगाडि यसो पनि भनि हालौँ– भाषिक सुबोध्यतादेखि लिएर वस्तुतात्विक र शिल्पतात्विक संरचनाकै सन्दर्भमा कवि पुलामीको सृजनाकृति/कविताकृति आधा अर्थ समकालीन काव्य विधाको एक विशिष्ट प्रतिनिधि हो, एक विरल प्रस्तुति हो अनि हो एक उदात्त कालकैरन पनि।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!