-सुरज धड्कन, चुङथुङ चियाबारी
‘विचरा!’
सुकृतिले भनिसक्दा मेरा आँखामा झ्वाम्म आइसकेको थियो एउटा सग्लो अनुहार। शान्त र सौम्य। नाक, मुख, आँखा, निधार, गाला सबै मिलेको, काले काले परेको, दिल बसेको राम्रे।
मलाई कैलाश दाजु तीनको किताबमा छापिएको बुद्ध भगवान् जस्तै लाग्थ्यो।
सुकृतिले पनि भन्थी –‘बुद्ध भगवान् हेरेर हेर्नै पर्दैन।’
रूपले राम्रे त थियो नै, गुणले पनि ऊ राम्रो मान्छे थियो। कसैलाई बिझाउँथेन। दुःख पर्दा धुँवा र रिस उठ्दा आगो कहिल्यै हुन्थेन। ठुलाहरूलाई आदर गर्थ्यो, सानाहरूलाई माया। जस्तै प्रतिकूल परिस्थितिमा पनि शान्त रहन्थ्यो। अरूको सेवा गर्न पाए जीवन परमधाम भएको ठान्थ्यो।
गाउँमा जसलाई जे काम परे पनि हाँसी हाँसी गरिदिने कैलाश दाजु नै थियो। यसैले गाउँलेहरू जस्तै साह्रोगाह्रो पर्दा पनि निर्धक्क भएर भन्थे –‘कैलाश छ त।’
मानौँ कैलाश दाजु गाउँको स्वर्गलाई थाम्ने हुटिट्याउँ हो।
मैले कैलाश दाजुलाई दुःखी र विचलित भएको कहिल्यै देखिनँ। चार कक्षा छिचोल्दै गर्दा ऊसँगै उसका दुईजना भाइलाई छोडेर आमाले वैतरणी पार गरिन्। बाबुले कान्छी ल्यायो। कान्छीबाट अझ दुई बहिनी थपिए। परिवार बढेर सात भएपछि छसम्म पुगेको ऊ अङ्कुसे जस्तो छमै अल्झ्यो।
यस्तैबिच फेरि दमाले सास बढेर हिरिक्क भइञ्जेल पनि कचकच गर्न नथाक्ने कान्छीआमा सुइकिइन्। त्यसकै केही महिनापछि रक्सीले पित्त छाँदेर बाबु पनि सुइँक्यो।
त्यसपछि कैलाश दाजुले जे पनि गर्यो, घरको खर्च उठाउन र भाइ-बहिनीहरूलाई पढाउनका लागि गर्यो। बर्खामा बिघा हिँड्यो। हिउँदमा बाटोको काम हिँड्यो। बाख्रा पाल्यो। सुङ्गुर पाल्यो। बारीमा सब्जी लगायो। भष्मे फाँडेर अलैँची रोप्यो। खोलामा गएर ढुङ्गा फुटायो। उसले आफैलाई यति धेरै भाग गर्यो कि, त्यसमा कुनै भागफल नै शेष रहेन।
‘नबाँचेको भए दुःखै लुक्थ्यो बरु।’ सुकृतिले भन्दा झसङ्ग भएँ म।
‘त्यै त।’ भनेको सचिनले ‘ईश्वरले पनि राम्रो मान्छेलाई मात्र सताउँदो रहेछ’ पनि थप्यो।
‘यस्तो देख्दा त ईश्वर पनि के हुन्छ भन्नु र!’ सुकृतिले भनी।
कुरा ठिकै पनि हो। अरूलाई मार्ने, लुट्ने, छल्ने, ढाँट्ने, सताउने र होँच्याउहरू दुबो जस्तै मौलाउँछन्। चारैतिर तिनीहरूकै नाम हुन्छ, जयजयकार हुन्छ। तर कैलाश दाजु जस्ता मान्छेहरू भने सन्चले बाँच्न त परै जावोस्, सन्चले मर्न पनि सक्दैनन्। कस्तो उदेक?
मलाई ईश्वर सम्झँदा एक तमासले हाँस्न मन लाग्यो र खित्का छोडी छोडी हाँसेँ।
सुकृतिले छक्क परेर हेर्दै सोधी -‘के भयो?’
‘ईश्वरलाई सम्झेर हाँसेको नि।’ भनेँ।
सिलिङतिर हेरेर एकछिन गम्भीर भएपछि दाजुले नै भन्यो-‘जति नै प्रयास गरे पनि हामी राम्रो मान्छे हुन नसक्दा रहेछौँ।यसैले राम्रो मान्छे हुन्छु र राम्रो काम गर्छु भनेर कहिल्यै नचिताउनू।’
घरबाट निस्कन लाग्दा अचानक हुरीमा बत्तिएको पत्कर जस्तै भएर सिनोरा दिदी आईपुगिन्।
‘अहिले कस्तो छ?’ आई पुग्नेबित्तिकै सोधिन् उनले।
‘अवस्था खराब छ। धेरै दिनदेखि खान नपाएर होला, तरान एउटै पनि छैन। जिउभरि राता राता दाग र घाउ खटिराहरू छन्। दाहिने खुट्टा कामै नलाग्ने भएको छ। डाक्टरले काट्नुपर्छ भन्दैछ रे।’ सचिनले सुनायो।
दिदीले आँखाभरि आँसु बोकेर भनिन्-‘हे ईश्वर!’
रूपरङ हराएर आकृति मात्र भएकी, लुम्री, झुम्री दिदीलाई देख्दा मलाई अचानक नै पुराना दिनहरूको याद आयो। तिनताक हामी सिनोरा दिदीकहाँ ट्युसन पढ्न जान्थ्यौँ। कहिलेकाहीँ कैलाश दाजु पनि हामीसँगै जान्थ्यो। दाजुसँग जान परेको दिन हामीलाई दिक्क लाग्थ्यो किनभने ऊ हामीलाई अर्ती दिनदेखि कहिल्यै थाक्दैन थियो।
‘राम्ररी पढ्नू, राम्रो मान्छे हुनू, राम्रो काम गर्नू, कर्म ठिक भए मन्दिर, मस्जिद, गुम्बा र गिर्जाघर धाइरहनु पर्दैन।’ यस्तै यस्तै।
सिनोरा दिदीको घर पुगेपछि मात्र हामी ढुक्क हुन्थ्यौँ।
उसलाई देखेपछि गोरी, राम्री सिनोरा दिदी लाजले रात्तै हुन्थिन्। कैलाश दाजु उनलाई हेरेर मुसुमुसु हाँसिरन्थ्यो।
एक दिन ट्युसन छुट्टी भएपछि दिदीले मलाई बोलाएर भनिन् –‘मेरो एउटा काम गरिदिने? गुड किनिदिन्छु।’
गुड भनेपछि हुरुक्कै हुने मैले ‘हुन्छ’ भनेँ। दिदीले त्यसपछि भित्र पसेर एउटा डब्बा ल्याइन् र मेरो हातमा थम्याइदिँदै भनिन् –‘नबिर्सिकन यो कैलाश दाजुलाई दिनू।’
मैले डब्बा थापेर झोलामा हालेँ।
‘खोलेर नहेर्नू है। हेरेको थाहा पाएँ भने गुड किनिदिँदिनँ नि फेरि।’ दिदीले भनिन्।
म टाउको हल्लाएर ‘हुन्छ’ भनिवरि कुदिहालेँ।
त्यस दिनदेखि लगभग एक वर्षसम्म मैले डब्बा बोक्ने काम गरेँ। सट्टामा दुवैजनाले किनिदिएको गुड पनि बेस्सरी नै खाएँ, तर त्यो डब्बा खोलेर हेर्ने आँट कहिल्यै गरिनँ।
आज पनि दिदीले त्यस्तै डब्बा निकालेर दिँदै भनिन्-‘तिमीहरूलाई थाहा छ? खिर भनेपछि कैलाश हुरुक्कै हुन्थ्यो। साह्रै मिठासे स्वभावको थियो ऊ। म उसकै निम्ति पनि जीवनभरि खिर पकाउन चाहन्थेँ, तर….।’
दिदीले आइसकेको हिक्का थामेर प्रसङ्ग घुमाइन् – ‘भाइ-बहिनीहरूका लागि उसले के गरेन र?’
‘त्यस्तो भाइ-बहिनी त दुस्मनको पनि नहोस्।’ सुकृतिले भनी।
हामी हस्पिटल पुग्दा कैलाश दाजु निदाइरहेको थियो। दुवैट्टिको गाला भित्र पसेकोले मुख बाहिर निस्केको, आँखाहरू टोड्का परेको, निधार खुम्चिएको, घाँटीदेखि ओरालो घावैगाउ र चोटैचोट परेको। दाजुको यस्तो चिन्नै नसक्ने रूप देखेर विचलित भएँ म।
रुङ्नु बसेको पाल्देनले भन्यो –‘धन्न! घाँस काट्न जानेहरूले देखेछन् र।’
‘त्यत्रो दिन हराउँदा घरबाट एकपल्ट पनि खोजी गरेन ?’ सुकृतिले सोधी।
‘किन खोज्थ्यो र ?’ पाल्देनले भन्यो –‘गाउँलेहरूले सोध्दा पनि बहिनीकोमा गाको छ भन्थ्यो।’
त्यतिबेलै कैलाश दाजु बिउँझियो।
‘दाजु !’ मैले बोलाएँ।
उसले खुसी न खुसी भएर हामी सबैलाई पालैपालो हेर्यो। अनुहार उस्तै उज्यालो, उस्तै सन्तोकी, उस्तै शान्त र सौम्य।
सुकृतिले झोलाबाट डब्बा निकालेर दिँदै भनी–‘सुर्ताउनु पर्दैन अब।’
डब्बा थापेर राम्ररी हेरेपछि केही भावुक जस्तो भएको उसले भन्यो –‘सिनोरालाई कस्तो रहेछ अहिले? सुनेको थिएँ -उसको लोग्नेले साह्रै सताउँछ रे।’
‘अहिले राम्रै छ। दिदीले भनेको तिमी चाँडै जाती हुनू रे।’ सुकृतिले भनी।
ऊ लजाएको जस्तो गरी अलिकति हाँस्यो।
मलाई दाजुसित थुप्रै कुरा सोध्नु थियो तर सोध्न सकिरहेको थिइनँ।
सिलिङतिर हेरेर एकछिन गम्भीर भएपछि दाजुले नै भन्यो-‘जति नै प्रयास गरे पनि हामी राम्रो मान्छे हुन नसक्दा रहेछौँ।यसैले राम्रो मान्छे हुन्छु र राम्रो काम गर्छु भनेर कहिल्यै नचिताउनू।’
हामीले चुपचाप सुनिरह्यौँ।
‘जतिसक्दो हुन्छ बरु मन्दिर, मस्जिद, गुम्बा र गिर्जाघर धाउनू। भाकल गरेर मूल्यवान् वस्तुहरू चढाउनू।’ दाजुले अझ गम्भीर भएर भन्यो।
‘किन’ भन्ने लागेको हामीले एकाअर्काको अनुहार हेराहेर गरेपछि एकैसाथ सोध्यौँ –‘किन ?’
‘किनभने ईश्वर नास्तिक छ।’ भनिसक्दा ‘हिक्क’ भइपठाएको दाजुले आँखाबाट बररर आँसु खसायो।