मनोरञ्जनसङ्गीतसम्झाउनी बिर्साउनी

चुपचाप कलाकार : विञ्जय लोहागण

- पारसचन्द्र आले, आकाशवाणी खरसाङ |

फेरि एउटा विडम्बना | धेरै अघि चिनिइसक्नु पर्ने कलाकार/प्रतिभाको बारेमा मरणोपरान्त केही लेख्नु परिरहेछ | विञ्जय लोहागण | एकजना अग्लो, पातलो युवा, मोटो पावरवाला चश्मा लगाएको, अत्यन्त विनम्र र सुशील देखिने भायोलिन वादक बेलाबेलामा आकाशवाणी खरसाङमा सङ्गीत रेकर्डिङका निम्ति आइरहने | उनको सङ्गीत प्रतिभा, शैक्षिक योग्यता हेर्दा अनि चश्माको पावर हेर्दा लाग्थ्यो कतै दृष्टिशक्ति क्षीण हुँदै गएकोले उनलाई आफ्नो क्षेत्रमा अघि बढ्न बाधा त दिने होइन? तर उनको प्रतिभा र शैक्षिक धरातलको अघि दृष्टिक्षीणताले घुँडा टेकिसकेको थियो | गीतिगुञ्ज सङ्गीत महाविद्यालयको विद्यार्थी रही प्रयाग सङ्गीत समिति, अलाहबादबाट भायोलिन वादनमा प्रथम स्थानमा सिनियर डिप्लोमा गरेका उनी एक उच्चकोटिका अनि आकाशवाणी खरसाङका एक ग्रेडेड कलाकार थिए | आकाशवाणी खरसाङमा धेरै कलाकारहरूसित उनले साज-सङ्गीत दिएका छन् अनि उनले बजाएका भायलिनका धुनहरू प्रसारण हुने गर्दछ | गीतिगुञ्ज सङ्गीत महाविद्यालयका प्राचार्य श्री गोविन्दसिंह घतानीले उनलाई सर्वश्रेष्ठ विद्यार्थीहरूमध्ये एक भनेका छन् | खरसाङ चलचित्र कला प्रतिष्ठान, मालदा सङ्गीत कला मञ्च आदि संघ-संस्थाहरूबाट उनी सम्मानित भएका छन् | सङ्गीतलाई साथमा राखेर उनले आफ्नो शैक्षिक प्रतिभालाई पनि सँगसँगै अघि लगाए | राजनीति शास्त्रमा एम० ए० गरे अनि खरसाङको नामी पुष्परानी रोय मेमोरियल स्कूलमा शिक्षक बन्नपुगे २०१३ को फरवरी महिनादेखि | त्यसअघि उनले मिरिक महाविद्यालय अनि बिजनबारी डिग्री कलेजहरुमा पनि केही समयसम्म अध्यापन गरेका थिए | एकजना अब्बल कलाकार शिक्षक हुँदा उनको शिक्षण शैली पनि प्रभावकारी हुनुपर्छ, उनका विद्यार्थीहरूले बुझ्लान् |

विञ्जयका पिताजी धनु लोहागण, आकाशवाणी खरसाङका एक निष्ठावान पूर्व कर्मचारी | खरसाङ शहरदेखि मास्तिर चिम्नी-देउरालीको मुन्तिर चैतेपानी नाम गरेको एक सुन्दर सुरम्य गाउँ छ | चैतेपानी जति सफा र सरल छ, त्यहाँका धनु लोहागण, विञ्जयहरू त्यति नै स्वच्छ अनि सरल छन् | “मलाई शहरको कोलाहल र प्रदूषण पटकक मन पर्दैन | मलाई मेरो गाउँ प्यारो लाग्छ |” मसितको अन्तिम भेटमा विञ्जयले भनेका थिए|

केही अघिदेखि उनमा मुटुसम्बन्धी विसञ्चका लक्षणहरू देखिए | आफै इन्टरनेट र सामाजिक सञ्जालहरूबाट केलाउँदै उपचारका निम्ति दक्षिण भारततिर झरे तर विञ्जय शरीरमा रहनुपर्ने निर्धारित समय पुगिसकेको थियो | ‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ | त्यस्तै भयो | भाइलाई निको पारेर ल्याउन भनी गएका विञ्जयका दाइ सञ्जय निष्प्राण भाइसित फर्कनु पऱ्यो | विञ्जयले वृद्ध माता-पिता, दाजु-भाउज्यू, चेलीहरू छोड़ेर गए | तर उनले घर-समाजलाई आफ्नो गुण, प्रतिभा र कला दिएर गएका छन् |

‘जाने वाले कभी नहीं आते

जाने वालों की याद आती है’

विञ्जय, तिमीले स्वर्गबाट हामीलाई अञ्जुली भरि आशीर्वाद दिइरहनु, हामी उँभो हेरेर हाम्रा अञ्जुली थापिरहनेछौँ |

अस्तु ! ॐ शान्ति !

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!