सम्वाद प्रतिविम्ब
दार्जीलिङ, 31 जनवरी।
हरेक महिनाको अन्तिम शनिवार सम्पन्न हुने शब्द समयको ९०औं प्रकरण सालबारी सयपत्री सङ्घ भवनमा सम्पन्न भयो। नेपाली भाषा साहित्यका देवराली मानिने विशिष्ट साहित्यकार नरबहादुर दाहालको मन्तव्यबाट कार्यक्रम शुरू भयो। यसपल्टको खुबै राम्रो जमघटको निम्ति साहित्यकार दाहालले खुशी व्यक्त गरे भने यस अवधिमा साहित्य र कला क्षेत्रका कति विभूतिहरू गुमाउन परेकोमा उनले दु:ख पनि व्यक्त गरे। उनले आफ्ना दिवङ्गत मित्र गोपाल भण्डारीलाई धेरै सम्झ्ना गरे। कवि खडकराज गिरीद्वारा सञ्चालन गरिएको यस प्रकरणमा शब्द समयमा पहिलोपल्ट सहभागी बन्न आएका सहभागीहरूलाई विशिष्ट साहित्यकार नरबहादुर दाहालको बाहुलीबाट खदा पहिर्याएर स्वागत जनाइएपछि उपस्थित सर्जकहरूले खुबै सुन्दर सुन्दर रचनाहरू पठन गरेका थिए।
कथाकार डा. साङमू लेप्चाले शब्द समयमा आउन पाउनु मेरो निम्ति अत्यन्त खुशीको कुरो हो भनिन्। उनले यस अवसरमा “आधा तिम्रो आधा मेरो” शीर्षकमा आफ्नो कथा वाचन गरिन्। रचना पठन गर्ने क्रममा कवि मोहन ठकुरीले थप्पडी शीर्षकको कविता पठन गरे। कवि वेगवसन्त थापाले आफ्ना प्रकाशोन्मुख कृतिहरू ‘हनुमानको हनुमान’, ‘देश र फुच्चे’ अनि ‘हराएको रोल नम्बर’-बाट एकएक वटा कविता क्रमश: “बुबा हजूरसँग”, “आमासँग” अनि “चियाकमानको घर” पठन गरे। युग्मककार कालूसिंह रनपहेंलीले केही युग्मकसित कविता “खरानीका हरफहरू” पाठ गरेका थिए। कवि ज्ञानेन्द्र खतिवडाले पठन गरे उनको जोशिलो कविता “उकालो/ओह्रालो”। कवि देविका मंग्रातीले “दार्जीलिङलाई सोद्धैछु” शीर्षकमा हालै दिवङ्गत बनेका विशिष्ट साहित्यकार कर्ण थामीमाथि लेखिएको आफ्नो कविता पठन गरिन्। कथाकार मणिकुमार प्रधानले लघु कथा “सुनको मृग” पाठ गरे।
कथाकार जीतबहादुर सोनारको कथा थियो “बुर्का” भने साहित्यकार बिर्ख खडका डुवर्सेलीले दुईवटा पठित कथाका पात्रहरूलाई मिलाएर नौलो परिपाटिको कथा बुनेर सुनाए। कवि इन्द्र गिरीले पाठ गरेका रचनाको शिर्षक थियो “टाँसियो पछ्यौरामा कोरोना”। सर्जक अनरेरी क्याप्टन महेश कुमार सुब्बाले सुनाए कविता “कुनै फरक पर्दैन”। कवि लीलबहादुर सोनारले वाचन गरे रचना “किस्सा किसानका”। कवि शीला देवानले कवितामा लिएर आइन् “साहित्य बनाम राजनीति”। कवि अमला सुब्बाले “आमा” शीर्षकको कविता सुनाइन् जसमा उनले केही लिम्बु शब्दहरू पनि प्रयोग गरेकी थिइन् जस्तै युयू, पालम, यालाङ आदि। कथाकार प्रकाशमणि प्रधानले “जन्म दिनको तारीक” शीर्षकको छोटो कथा वाचन गरे भने गजलगो समीर शर्माले दुई गजल वाचन गरेर सबैलाई मक्ख पारे।
अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले हालै दिवङ्गत बनेका विभूति गीतकार-साहित्यकार-नाटककार-अनुवादक गोपाल भण्डारीलाई सम्झना गर्दै धेरैअघि उहाँले आफ्नो घरमा साहित्यिक भेला आयोजना गरेका कुराहरू बताए अनि त्यही भेट्घाट्को रूप आजको शब्द समय हो भने। कवि खतिवडाले प्रसिद्ध गीतकार-गायक-सङ्गीतकार पारस गजमेर अनि प्रसिद्ध साहित्यकार भवजीत तामङबारे पनि केही प्रकाश पारेपछि दिवङ्गत तीनै विभूतिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्मशान्तिको प्रार्थनासित दुई मिनटको मौन धारण गरियो। कार्यक्रममा समाजसेवी पूर्ण मंगर, हेमन्त सुब्बा, नीरू शर्मा, कविता अधिकारी, सी.के रामूदामू, अभिषेक छेत्री, शोभा छेत्री, अजन्ता चोङबाङ आदिको विशेष उपस्थिति रहेको थियो।