सम्वाद प्रतिविम्ब
दार्जीलिङ 14 जून।
बलिवुड फिल्म जगतमा आज फेरि शोकको लहर छाएको छ। पहिला इरफान खान त्यसपछि ऋषि कपुर अनि चर्चित सङ्गीतकार वाजिद खानको निधनले पुरै भारतीय फिल्म उद्योगमा ठूलो झटका लागेको थियो। आज अचानक बलिवुडका वर्तमान समयमा निक्कै चर्चित अभिनेता सुशान्तसिंह राजपुतको असामायिक मृत्यु भएको दर्दनाक खबर आएको छ।
सुशान्तसिंह राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरे। आज आइताबार बिहान जब उनको घरको दैलो भत्काएर हेर्दा सुशान्तसिंह आफ्नो घरमै फाँसीमा झुण्डिरहेको भेट्याइयो। उनको नोकरले यसबारे पुलिसलाई जानकारी दिए। तथापि उनको आत्महत्याको कारण अहिले नै थाहा नलागेको अनि पुलिसहरूले घटनाबारे जानकारी बटुल्ने कार्य गरिरहेको जनाएको छ।
सुशान्तसिंहले आफ्नो अभिनय करियरको सुरूआत टेलीभिजनबाट गरेका थिए। तथापि क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनमा आधारित फिल्मले उनलाई धेरै चर्चित बनाएको थियो। उनले भारतीय टीमको पूर्व कप्तान धोनीको भूमिका निर्वाह गरेका थिए।
सुशान्तले पहिले टिभी सिरियल ‘किस देश मे है मेरा दिल’ नामक धारावाहिकबाट आफ्नो करियरको सुरूआत गरेका थिए। त्यसपछि ‘पबित्र रिस्ता’ धारावाहिकबाट चर्चामा आएपछि बलिवुड फिल्ममा पनि नाम कमाउन थालेका थिए। उनले ‘काय पो चे’ फिल्मबाट बलिवुडमा फिल्मी करियर सुरू गरेका थिए। सुशान्तसिंह त्यस समय खुबै चर्चित भएका थिए जब उनले महेन्द्रसिंह धोनीको बायोपिकमा काम गरेका थिए। भर्खरै आएको उनको ‘छिछोरे’ ‘केदारनाथ’ ‘बोमकेश बक्सी’ ‘सोनचिडिया’ आदि फिल्महरूले पनि निक्कै चर्चा पाएका थिए।
स्मरण गराइन्छ कि केही दिन अघिमात्रै सुशान्तको भूतपूर्व म्यानेजर दिशा सालियानले पनि मुम्बईको मलाडस्थित मालवाणी क्षेत्रमा 14 तल्ला विल्डिङबाट हामफालेर आत्महत्या गरेकी थिइन्।