विश्लेषणसमाचार

के हुने हो अजय एडवर्डको भावी रणनीति ?

संवाद प्रतिविम्ब

दार्जीलिङ 26 अगस्त।

दार्जीलिङका एक प्रभावशाली नेताको रूपमा परिचय स्थापित गरिसकेका गोरामुमो दार्जीलिङ ब्राञ्चका अध्यक्ष अजय एडवर्डले राजीनामा दिने घोषणा नै गरिसकेपछि अब उनको भावी रणनीति के हुनेछ, दार्जीलिङ पहाड़भरि चलिरहेको सबैभन्दा ठूलो खुल्दुली अहिलेघरि यही भइरहेको छ।

गत केही दिनअघिमात्र अजय एडवर्डले लामो अडियो जारी गरेर गोरामुमो अध्यक्ष मन घिसिङलगायत गोरामुमोका कतिपय शीर्षस्थ नेतृत्वहरूको राजनैतिक इमान्दारितामाथि नै ठूलो शंका उत्पन्न गरिदिएका छन्। गोरामुमो अध्यक्ष मन घिसिङले आफूलाई मुख्यमन्त्री ममता व्यानर्जीलाई सरकारी ओहोदाको निम्ति अपील गर्न लगाएको देखि लिएर गोरामुमोले पैसाको खेला भएको  जस्तो संगीन आरोपहरू लगाएर एडवर्डले अब पूर्णरूपले गोरामुमो त्याग्ने मन बनाइसकेको स्पष्ट संकेत दिएका छन्।

फाइल फोटो

एकातिर अजय एडवर्डले गोरामुमो अध्यक्ष मन घिसिङ अनि गोरामुमो पार्टीका शीर्षस्थ नेतृत्वहरूमाथि लगाएको उक्त आरोपको अहिलेसम्म स्पष्टीकरण नदिनाले एडवर्डको उक्त आरोप सत्य हुन् कि भन्ने शंका पनि उत्पन्न गरिरहेको छ भने अजय एडवर्डलाई लिएर पनि गोरामुमोले कुनै प्रतिक्रिया व्यक्त नगरेको कारणले गर्दा एडवर्डको राजीनामालाई लिएर पनि मन घिसिङलगायत गोरामुमोका नेतृत्वहरू मानसिकरूपले तयार भइसकेको संकेत दिइरहेको छ।

अजय एडवर्डले गोरामुमो त्याग गरिसकेपछि उनको भावी रणनीति के हुनेछ त, अहिलेघरि चाँसो अनि चर्चाको विषय यो बनेको छ। सूत्रमार्फत् थाह लागेअनुसार, दार्जीलिङ पहाड़मा रहेको अजय एडवर्डको प्रभावलाई ध्यानमा राख्दै प्रायशः सबै राजनैतिक दलहरू अहिलेघरि अजय एडवर्डलाई आफ्नो दलमा सामेल गर्न लालयित देखिरहेको छ। यस दौड़मा सबैभन्दा अघिल्लो पंक्तिमा रहेका छन् गोजमुमो 1 अनि गोजमुमो 2।

गोजमुमो 1 अर्थात् विमल गुरूङ समूह अजय एडवर्डलाई आफ्नो दलमा सामेल गराउन निक्कै चाँसो देखाइरहेका छन्। यसको स्पष्ट संकेत गोजमुमो विमल खेमाका कार्यकर्ता एवं नेतृत्वहरूले हालमा सोसियल साइटहरूमा यस विषयमा गरिरहेको टीका-टिप्पणीहरूले पनि स्पष्ट गर्दछ। यसबाहेक गोजमुमोका कतिपय भ्रातृ संगठनको नाममा खोलिएका सोसियल साइटहरूमा त विमल गुरूङ अनि अजय एडवर्डको फोटो संगै राखेर समेत टीका-टिप्पणी गरिरहेका छन्। यही क्रममा विमल गुरूङलगायत अन्य शीर्षस्थ नेतृत्वहरूले समेत अजय एडवर्डलाई आफ्नो दलमा ल्याउने भऱमग्दूर प्रयास गरिरहेको पार्टी सूत्रमार्फत् जानकारी पाइएको छ।

यसबाहेक गोजमुमो 2 अर्थात् अनित थापा समूह जो हालमा नयाँ पार्टी खोल्ने दिशातिर छन् उनीहरू पनि नयाँ पार्टीमा अजय एडवर्डलाई सामेल गराउने प्रयासमा रहेका छन्। दार्जीलिङमा चलिरहेको घाइँघुइँहरूलाई विश्वास गर्ने हो भने अजय एडवर्ड अनित थापाहरूको नयाँ पार्टीमा सामेल हुने 90 प्रतिशतभन्दा धेर सम्भावना पनि रहेको छ। अनित थापा स्वयँ पनि अजय एडवर्डलाई आफ्नो नयाँ पार्टीमा सामेल गराउन धेरै इच्छुक रहेको पनि पार्टी सूत्रको भनाइ रहेको छ।

तथापि अजय एडवर्डको भावी रणनीति के हुने हो यस विषयमा अहिलेसम्म स्पष्ट भने हुन सकेको छैन। उनले आफ्नै नयाँ राजनैतिक दल खोल्ने सम्भावनाहरूमाथि पनि अड़कलबाजी लगाइँदैछ, तथापि अहिलेसम्म यसबारे खुलस्त केही हुन सकिरहेको छैन। भावी रणनीतिलाई लिएर अजय एडवर्ड आफैले पनि केही भनिहालेका छैनन्। तथापि अजय एडवर्डको राजीनामाले गोरामुमोलाई भने धेरै प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ रहेको छ। किनभने एडवर्डसितै गोरामुमोका अन्य कतिपय शीर्षस्थ नेतृत्वहरूले पनि दल त्याग गर्ने सम्भावना गोरामुमोमा पनि बड़्दै गइरहेको छ।

 

 

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!