१. आंशिक लक डाउन
हिजो पश्चिम बंगाल सरकारले एउटा अध्यादेश जारी गरेर राज्यमा आंशिक लक डाउन को घोषणा गर्यो। त्यस पश्चात जी टी एको तर्फ बाट श्री सुरेन्द्र गुप्ता, मुख्य सचिवले पनि राज्यको घोषणा अनुसारको सूचना जारी गर्नु भयो। जी टी ए क्षेत्रमा पनि आंशिक लक डाउन लागू हुनेछ। मैले पनि त्यो सुचना पाएँ। जीटीएको पहललाई म स्वागत गर्छु। सम्पूर्ण जीटीएवासीले लक डाउनको घोषणालाई समर्थन गर्नुहोस् भनी म निवेदन गर्दछु।
२. कोविडको दोश्रो लहर अनि हेल्थ सिस्टम
लक डाउन मा धेरै मानिसहरू लाई विपद् पर्छ तर दोस्रो लहरको कोविड अघिल्लो समय भन्दा डरलाग्दो छ। सबैलाई ज्ञात भएको कुरा यही कोबिड को कारण जी टी ए क्षेत्रमा धेरैले आफ्नो प्राण समेत गुमाई सकेको छ। अझ स्थिति भयानक हुने सम्भावना छ। स्थितिलाई म पनि नजिक बाट नै मोनिटर गरिरहेको छु।
तपाईंहरू को मनमा प्रश्न होला कि अनित थापा पहिला को जस्तो यसपालि किन मैदान मा छैन? सबैले जान्नु पर्ने कुरा के भने अघिल्लो कोबिड अनि यसपालिको कोविडमा भिन्नता छ।
पहाडमा प्रथम पल्ट कोविड संक्रमणलाई रोकथाम अनि व्यवस्थापन गर्न पहाडका हरेक पक्ष एकजुट भएर काम गरेका थियौं। हामीलाई मानिस अनि कर्मीहरुको मनोबल बढाउनु थियो जुन हामीले हाम्रो एक सोच अनि एक उद्देश्यको कारण सक्षम बन्यौं। तर यसपालिको कोविड माथिको काम मास्क, स्यानिटाइजर बाँड्नु मा मात्र सीमित छैन। यसपालिको कोविड को स्थितिमा गर्नुपर्ने प्रमुख कार्य भनेको हेल्थ सिस्टम लाई अपडेट गर्नु हो। यो सिस्टम अपडेट कार्यमा हामी लागी परेका छौ।
सोसियल मीडिया, टी भी तिर हामीलाई तपाईहरुले देख्नु भएको छैन। तर पहिलाको अनुभव को कारण मानिसहरू धेरै सचेत भएको म देख्छु। दार्जीलिङ, खरसाङ, मिरिक, कालिम्पोङ को बजारमा मानिसहरू छन तर धेरै पातला। मानिसहरू सचेत छन। यसको निम्ति सबैलाई म धन्यवाद दिनु चाहन्छु। यसले के देखाउँछ भने सबैले पहाडलाई माया गर्छन्। आफू बाँचेर पहाडलाई बचाउने तरखरमा छन्।
३. कोविड अनि जीटीएको कार्य
म जीटीएको कुनै ओहदामा छुइन तर एक नागरिक को दायित्व निभाउँदै काम गरिरहेको छु। जीटीएका मुख्य सचिव, अन्य संबंधित अधिकारीहरू, कोलकातामा स्वास्थ्य का सचिव हरु संग मेरो दैनिक रूपमा विचार विमर्श भई नै रहेको छ। मेरो यही सम्पर्कको आधारमा भन्दैछु कि जीटीएले कोरोना रोकथाम गर्न हेल्थ सिस्टम लाई अपडेट गरिरहेको छ। १.दार्जीलिङ, खरसाङ, मिरिक अनि कालिम्पोङ मा सेफ होम तयार हुँदैछ।
२. सिलगढ़ीमा पहाड बाट जानेहरुको सुविधाको निम्ति हेल्प डेस्क खोलेर २४ घण्टा नै काम हुँदैछ।
३. कोविड को विरामी लाई लिएर जाने परिवार का सदस्यहरूलाई कतिको दुःख भई रहेको छ हामीलाई थाहा छ। उनीहरू संग हामी निरन्तर संपर्क मा छौ अनि सहायता दिई रहेका छौ।
४. पहाडको हेल्थ इन्फ्रास्टक्चर लाई हेर्नु हो भने त्रिवेणी कोविड अस्पतालमा १५० बेड सञ्चालन भई रहेको छ। एक सप्ताह भित्र अझ ३० बेड थपिने छ।
५. त्रिवेणी अस्पतालमा अक्सिजन युक्त ३० बेड चालु छ।
६. ६ बेड सीसीयु बेड चालु छ।
४. आफु बाँचौ पहाड बचाऔं
भोलिको दिनमा हाम्रो मान्छे लाई हाम्रै ठाउँमा उपचार गर्ने हाम्रो प्रयास छ। अहिले अस्पतालमा ६३ कोविडको बिरामीहरूको उपचार भई रहेको छ।
जीटीएको डाक्टर, नर्स, स्वास्थ्य कर्मीहरु आफ्नो ज्यानलाई जोखिम मा राखेर दिन रात काम गरिरहेका छन्। जतिले मास्क बाँड्ने काम गर्दैछन् सबैले धर्मको काम नै गर्दैछन्। तर एउटा कुरा यड राख्नु पर्छ, ती मास्क बाँड्नु जाने मान्छेले आफैलाई सुरक्षित राखेर सेवा को काम गर्दैछन् कि गरेका छैनन्? आफ्नो टेस्ट गरेर नेगेटिभ भएर नै अरूको सम्पर्कमा आएका छन् ? मेरो निवेदन छ कि जातिले पनि यो सेवा गर्दैछन पहिला आफ्नो टेस्ट गर्नु होस। तपाईंको एउटा सम्पर्क को कारण अन्यलाई घात नपुगोस। नत्र हाम्रा स्वास्थ्य कर्मीहरुको प्रयास खेर जानेछ।
५. चुनाव परिणाम अनि हाम्रो सोच
भोलि चुनावको रिजल्ट। चुनावमा हार जीत हुन्छ। मेरो पार्टीका कार्यकर्ता अनि समर्थकलाई निवेदन गर्छु कि भोलि जतिसक्दो घरमा नै बसेर चुनावको परिणाम हेर्नुहोस। अहिले चुनाव परिणाम भन्दा पनि महत्वपूर्ण कोविडको संक्रमण देखि बाँच्नु छ। सरकारले दिएको नियम पालन गर्नुहोस। दार्जीलिङ, खरसाङ, कालिम्पोङ सबै कार्यकर्ता हरुले आफ्नै समष्टि मा बसेर चुनावको परिणाम हेरिदिनु होस।
नयाँ सोच अनि नयाँ विचारको पहल लाई मलाई लाग्छ मानिसहरूले रुचाएका छन्। हामीलाई विश्वास गरेर मानिस ले हामीलाई भोट दिएका छन्। दार्जीलिङ पहाडलाई राम्रो बनाउन हामी निस्केका हौ। यसपाली कुनै पनि ठाउँमा भीड नबनाएर हाम्रो सोचको परिचय दिउँ। भनिन्छ जीतमा हामी मात्तिनु हुँदैन, हारमा कहिले आत्तिनु हुँदैन। यसलाई हामीले अनुसरण गर्नु पर्छ।
नयाँ सोच नयाँ विचार देखावटी मा मात्र होइन व्यवहारमा पनि ल्याउनु पर्छ। त्यसैले हामीले जिते पछि बद्ला होइन बदलाव को भावनामा काम गर्नु पर्छ। हाम्रा कार्यकर्ता हरुलाई मेरो विन्ती छ कि कुनै पनि गाउँ घरमा झगडा नगर्नुहोस। नेताको निम्ति तपाईं हरु छिमेकी संग झगडा नगर्नुहोस।
६. राजनैतिक नयाँ इतिहास
८६ पश्चात पहिलो पल्ट पहाडमा नयाँ इतिहास रचिएको छ। पहिला चुनाव आउनु अघि माटोको गीत बज्थ्यो। त्यही भावनात्मक गीतमा डुबेर मानिसले भोट हाल्थ्यो। तर यसपालि पहाडलाई परिवर्तन गर्ने अनि पहाडलाई अघि लैजानु पर्छ भनेर भोट हालिएको छ। जनताको यो निर्णयलाई हामीले स्वेच्छा ले स्वागत गर्नु पर्दछ।