सम्वाद प्रतिविम्ब
दार्जीलिङ 21 जून।
लकडाउनले प्रभावित बनेका कलाकारहरूको निम्ति आर्थिक जोहो गर्न दार्जीलिङको एञ्जल्स प्रोडक्शनले नयाँ तरीका निकालेको छ। दार्जीलिङ ग्लेनरिजस्थित बजमा एञ्जल्स प्रोडक्शनले दार्जीलिङका ब्याण्डहरूलाई लिएर अनलाइन कन्सर्ट आयोजना गरिरहेको छ जसमार्फत् उठेको रकम उक्त ब्याण्डलाई नै प्रदान गरिने गरिन्छ।
उक्त कन्सर्ट सामाजिक सञ्जालमार्फत् जो कोहीले पनि हेर्न पाउनेछन् भने कन्सर्ट हेर्ने मानिसहरूले न्यूनतम् 50 रूपियाँदेखि लिएर यथाशक्ति उक्त ब्याण्डको एकाउण्टमा कन्सर्ट टिकट फीसस्वरूप दिन सक्नेछन्। जुन ब्याण्डले अनलाइन शो गरिरहेका छन् उनीहरूको एकाउण्ट नम्बर भीडियोमा स्क्रोल गरिनेछ भने उक्त एकाउण्ट नम्बरमा गुगल पे, पेटीएम या अन्य एपहरूमार्फत् अनलाइन ट्रान्सफर गरेर दर्शकहरूले उक्त ब्याण्डलाई सहयोग गर्न सक्नेछन्।
एञ्जल्स प्रोडक्सनको व्यानरमा चलिरहेको उक्त अनलाइन कन्सर्टमा हालसम्म विभिन्न ब्याण्डहरूले भाग लिइसकेका छन् भने एउटा कन्सर्टमा 35 हजारसम्म रकम ब्याण्डको खातामा जमा भएको मन्त्र ब्याण्डका सदस्य एवं कार्यक्रम आयोजक सहयोगी प्रज्ञा लामाले जानकारी गराएका छन्।
लकडाउनले सबै क्षेत्रलाई नै प्रभावित बनाएका छन्। कलाकारहरूलाई पनि प्रभावित बनाएका छन्। धेरैजना कलाकारहरूले आफ्नो कलाकारितामार्फत् नै जीवन धानिरहेका थिए, तर लकडाउनको कारणले ती कलाकारहरू धेरै प्रभावित बनेका छन्। यसैले ती कलाकारहरूलाई बचाउन अनि उनीहरूलाई प्रेरणा दिन यस प्रकारको कार्यक्रम शुरू गरिएको हो। यो पनि कन्सर्ट नै हो पहिला मानिसहरूले हलमा टिकट काटेर हेर्ने गर्दथे भने हालमा घरमै बसेर मोबाइल या कम्प्युटरमार्फत् हेर्न सक्नेछन्, उक्त अनलाइन कन्सर्टबारे जनाउँदै प्रज्ञा लामाले यसो भने।
हालमा दार्जीलिङमा ग्लेनरिजको बज अनि पार्क स्टुडियोले दार्जीलिङका ब्याण्डहरूलाई लिएर यस प्रकारको कार्यक्रमहरू आयोजना गरेर ब्याण्डहरूलाई धेरै प्रेरित गरिरहेको पनि लामाले बताएका छन्।
एञ्जल्स प्रोडक्शनले अगावैदेखि म्युजिक भीडियो तथा गीत रेकर्डिङ आदि गरिरहेको पनि लामाले बताएका छन्।