संवाद प्रतिविम्ब
कालेबुङ 11 मार्च।
जति-जति विधानसभा चुनाउ नजिकिँदैछ, उत्ति नै विभिन्न दलहरूबाट समर्थकहरू आफ्नो दल त्याग गर्दै गोर्खा जनमुक्ति मोर्चा विनय समूहमा सामेल हुने क्रम जारी छ । गोजमुमो विनय समूहको मूलमन्त्र नयाँ सोच,नयाँ विचारको सिद्धान्त अनि कार्यप्रणालीलाई रुचाएर अन्य दलका समर्थकहरू अहिले गोजमुमो विनय समूहमा सामेल भइरहेका छन्। यसै क्रममा तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला टाउन कमिटीका सदस्यहरू आफ्नो दल त्याग गर्दै गोजमुमो विनय समूहमा सामेल भएका छन्।
आज कालेबुङस्थित दलीय कार्यलयमा तृणामूल कङ्ग्रेस कालेबुङ टाउन कमिटीका सदस्यहरूले गोजमुमो केन्द्रीय समिति सदस्य रुदेन लेप्चा,जिल्ला समिति अध्यक्ष सीबी गुरुङ लगायत अन्यको बाहुलीबाट गोजमुमो विनय समूहको दलीय झण्डा ग्रहण गरे।
समर्थन कार्यक्रम अवधि आफ्नो मन्तव्य राख्दै गोजमुमो केन्द्रीय समिति सदस्य रुदेन लेप्चाले आज गोजमुमो विनय समूहमा सामेल हुने युवाहरूलाई स्वागत जनाए। युवाहरूको सहभागिताले भविष्यमा दलको अनि पहाडकै निम्ति कार्य गर्नमा उत्साह पुगेको बताउँदै तिनले सबैलाई एकमुष्ठमा रहेर कार्य गर्नुपर्नेमा जोड दिए। दलमा सामेल नयाँ सदस्यहरूले पनि आफ्नो पक्षबाट दलको निम्ति कार्य गर्नुपर्ने बताउँदै तिनले युवावर्गले सचेत बनेर अबको राजनीतिमा भाग लिनुपर्ने बताए।
आज तृणमूल कङ्ग्रेस त्याग गरेर गोजमुमो विनय समूहमा भएका युवाहरूले आफूहरू गोजमुमो विनय समूहको सिधान्त र कार्यप्रणालीलाई मनपराएर सामेल भएको जनाए। भविष्यमा गोजमुमो विनय समूहसँग आबद्ध रहेर अघि बढ्ने प्रतिबद्धता पनि युवाहरूले जाहेर गरे।