संवाद प्रतिविम्ब
सोनादा 16 फरवरी।
यसपालि दार्जिलिङ पहाड़मा चिसो ठाउँ हिमालतिर पाइने चरा पहलोपल्ट आएको बर्ड गाइडहरूले बताएका छन्। पहाड़मा अन्य वर्षहरूको तुलनामा यसवर्ष केही बेसी हिउँ परेको थियो। यसरी हिउँ परेको कारण पनि यस्तो नयाँ प्रकारको चराको आगमनले भएको हुनसक्ने बताइएको छ।
यस विषयमा खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि रहेको रंगटङका बर्ड गाइड संजोग देवानले यसपाली हिउँ पर्न अघि नै हिमालय क्षेत्रतिर पाइने चरा पहलोपल्ट पहाड़मा देखा परेको र उक्त चरा यसपाली प्रथमपल्ट दार्जिलिङको सेन्ट पल्स स्कूलको केही माथितिर पाइएको र उक्त चराको फोटो पहलोपल्ट घुमका एकजना बर्ड वाचर गणेश प्रधानले क्लिक गरेको बताएका छन् । उनले यो कलर्ड ग्रोसविक प्रकारका चराहरू हिउँ परेको ठाउँतिर नै पाइने गरेको र हिउँ परेको ठाउँमा खानेकुरा नपाउँदा केही तलतिर झर्ने गरेको तर यस्ता चराहरू जता हुन्छन् तेतातिर हिउँ पर्ने गरेको पनि बताएका छन्।
तिनले चराचुरुङ्गीहरुलाई हिउँ पर्ने पहिला नै याद हुने गरेको बताउँदै भविष्यमा यस्ता चराहरू पहाड़मा फेरि देखा परे हिउँ पर्छ भनेर जान्दा हुन्छ अथवा हिउँ पर्ने सम्भावना बेसी रहने भनी बताए। यस्ता चराहरू विशेष गरी हिमालको चीनको सीमान्त क्षेत्रतिर पाइने पनि बताएका छन्। अहिले ती कलर्ड ग्रोसविक नामक चराहरू पुन: हिमालतिर फर्कन थालेको र अब हिउँ पर्ने सम्भावना कम रहेको बताएका छन्।
यो चराको अहिलेसम्म नेपाली नाम पनि नरहेको र रंगटङका बर्ड गाइड संजोग प्रधानले बताए अनुसार आफु अहिले बर्ड वाचरहरुको लागि गाइड गर्नलाई महानन्द वाइल्ड लाइफ, सिंहलिला, सिञ्चेल, लोले, सन्दकपु, फालुट, रंगटङ, पगलाझोड़ा, सिविटार आदि क्षेत्रमा जाने गरेको बताएका छन्। उनी विगत 2012 देखि बर्ड गाइडको काम गर्दै आईरहेका छन्।