क्षेत्रीय समाचारसाहित्यसिलगढ़ी

सिलगढी देवकोटा संघको ५८ औं प्रतिष्ठा दिवस पालन

मुखपत्र "बाडुली" - को लोकार्पण अनि 'घर घरमा मातृभाषा' माथि चर्चा

सिलगढी देवकोटा संघको ५८ औं प्रतिष्ठा दिवस समारोहको उपलक्ष्यमा विविध कार्यक्रमहरु माझ प्रमुख अतिथि वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, विशिष्ट अतिथि सरोज गजमेर, आई० पी० एस० ( भूतपूर्व आई० जी०, पश्चिम बङ्गाल सरकार), खरसाङ विधानसभा समष्टि विधायक बी० पी० बजगाईं, संघका अध्यक्ष मिलन रुचाल साथै अन्य वरिष्ठ साहित्यकारहरुका बाहुलीबाट संघका ऐतिहासिक मुखपत्र “बाडुली” – को नयाँ अंकको लोकार्पण सम्पन्न भएको छ ।

सन् १९६३ सालमा सिलगढी देवकोटा संघको स्थापना भएपछि सन् १९६८ देखि बाडुलीको सुरूवात वरिष्ठ साहित्यकार रामलाल अधिकारीले गरेका थिए । नेपाली साहित्यको क्षेत्रमा बाडुली पत्रिकाले आफ्नो निरन्तर योगदान दिँदै आइरहेको भ‌ए तापनि सन् २०११ देखि यता कतिपय कारणवश बाडुली को प्रकाशनमा गतिरोध आएको थियो । सिलगढी देवकोटा संघको २०२०-२३ कार्यकालको कार्यकारी समितिको पुनर्गठन भ‌एपछि संघको साहित्य अनि शिक्षा विभागले बाडुली को पुनः प्रकाशनको दायित्व लिएको थियो । संघका साहित्य विभागको अथक प्रयासमा “बाडुली” को वर्ष ५३, अंक १ -को सफलतापूर्वक प्रकाशन अनि लोकार्पण हुन सकेकोमा साहित्य विभाग, सिलगढी देवकोटा संघको पक्षबाट सम्बन्धित सबैलाई धन्यवाद ज्ञापन गरिएको छ ।

कार्यक्रमबारे जानकारी गराइएअनुसार उक्त अवसरमा सदस्यता ग्रहणको २५ वर्ष नाघेका आजीवन सदस्यहरू, संघको भवन निर्माणमा सहयोग पुऱ्याउने दाताहरु, समाजका विभिन्न क्षेत्रहरूमा योगदान दिने सामाजिक संस्था – भानुभक्त समिति, पृष्ठभूमि कला संस्थान साथै व्यक्तिहरु गोपाल लामा, कृष्ण लामा, गायक कर्मा शेर्पा, यंग साइन्टिस्ट वर्षा रानी गजमेर आदिलाई सम्मान एवं संवर्धना जनाइयो |

कार्यक्रममा “घर घरमा मातृभाषा” विषयमाथि चर्चा पनि राखिएको थियो | चर्चाका निम्ति प्यानलमा – डा० रेमिका थापा, साहित्यकार विजयकुमार राई, डा० धनीराज छेत्री, शिशु विशेषज्ञ डा० मधुलता पाण्डे आदिको उपस्थिति थियो भने वार्ताको सहजकर्ताको भूमिका नारी विभागकी संयोजिका श्रीमती देवीकला शर्माले गरेकी थिइन् |

अञ्जना भण्डारीद्वारा सञ्चालित कार्यक्रममा चर्चित गायिकाद्वय स्नेहश्री थापा अनि सान्निध्य थापाले भजन साथै संघका सदस्य किरण घिमिरे, अनि सुजन तामाङले गीत प्रस्तुत गरेका थिए |

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!