क्षेत्रीय समाचारखरसाङ

शब्द समयको 107औँ प्रकरण सम्पन्न

संवाद प्रतिविम्ब

खऱसाङ 27 जून ।

सालबारीमा हरेक महिना आयोजना हुने शब्द समय भेट्घाटको 107औँ प्रकरण सालबारीको स्थानीय सयपत्री भवनमा सम्पन्न भयो। शब्द समयका अभिभावक व्यक्तित्व साहित्यकार नरबहादुर दाहालको मन्तव्यसित आरम्भ भयो यो प्रकरण पनि। साहित्यकार दाहालले आफ्ना कुराहरू राख्ने क्रममा आगामी केही दिनभित्रमा हामी कवि हरिभक्त कटुवाल जयन्ती, पादरी गङ्गाप्रसाद प्रधान जयन्ती अनि भानु जयन्ती पालन गर्न गइरहेका छौं, कवि हरिभक्त कटुवाल जयन्ती आगामी 2 जुलाई अनि पादरी गङ्गाप्रसाद प्रधान जयन्ती आगामी 4 जुलाईमा पर्ने हुनाले सालबारीमा यी दुई जयन्ती हामी 3 जुलाईको दिन मनाउने सल्लाह गरौं भनी उनले प्रस्ताव राखे।

उनले हालै नेपालबाट साहित्यकार शरद प्रधानद्वारा लिखित कृति स्मृति बिम्ब प्रकाशनमा आएको अनि यसमा भारतका धेरै ओझेलमा परेका लेखकहरूबारे गहन अध्ययन गरी प्रधानले लेखेका कुरो जनाउँदै साहित्यकार दाहालले कृतिकारलाई धेरै धन्यवाद दिए अनि सो पुस्तक सबैलाई देखाएर यसको लोकार्पण पनि भिन्दै र विशेष प्रकारले गरिएकोमा यसरी नयाँ प्रकारले हामीले कार्यहरू गर्दै जानुपर्ने कुरा जनाए। उनले अझ बताए यो पुस्तक अत्यन्त पठनीय कृति बनेर हाम्रो हातमा आएको छ। शब्द समयका कर्मठ कार्यकर्ता कवि ज्ञानेन्द्र खतिवड़ाले साहित्यकार दाहालले राखेको प्रस्तावलाई सबैसित सरसल्लाह गरेपछि समर्थन गर्दै कवि हरिभक्त कटुवाल जयन्ती र पादरी गङ्गाप्रसाद प्रधान जयन्ती सालबारीमा एकैचोटि आगामी 3 जुलाईको दिन अपरान्ह चार बजेदेखि स्थानीय सविता गोम्देन साहित्य कक्षमा आयोजना गरिने कुरा सबैलाई सूचित गरे।

आजको प्रकरणमा सर्जकहरूले सुन्दर रचनाहरू पठन गरेका थिए। यस क्रममा वरिष्ठ साहित्यकारहरू कवि मोहन ठकुरी, कवि भविलाल लामिछाने, कवि ज्ञानेन्द्र खतिवड़ा, कथाकार खड़कराज गिरी, कवि शिवाकोटि दोषी, कवि गङ्गा प्रधान, युग्मककार कालूसिंह रनपहेंली, अ.प्रा. कप्तान महेश कुमार सुब्बा, कवि लीलबहादुर सुनार, अनि कवि कविता अधिकारीले स्वरचित कथा कविता तथा मुक्तकहरू वाचन गरेका थिए। कवि खड़कराज गिरीद्वारा सञ्चालन गरिएको यो प्रकरणमा कवि ज्ञानेन्द्र खतिवड़ाले धन्यवाद ज्ञापन गरे। यस अवसरमा कथाकार-अनुवादक जीतबहादुर सुनार, समाजसेवी पूर्ण मंगर, रघुनाथ शर्मा आदिको विशेष उपस्थिति रहेको थियो।

शब्द समयको प्रकरण समाप्तिपछि गोम्देन टी बारको सविता गोम्देन साहित्य कक्षमा पुगेर साहित्यकारहरूले ग्रीन-टीको चुस्की लिँदै साहित्यिक कुराकानी गरिरहेका थिए। यहाँ कवि-गजलगो शैलेन्द्र समदर्शी, चिया उद्ध्योगका पूर्व अधिकारी अरूण गोम्देन, गोम्देन टी-बारका स्वामी अनन्त गोम्देन आदिको पनि उपस्थिति रहेको थियो।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!