संवाद प्रतिविम्ब
खरसाङ 25 नोभेम्बर ।
बिमल गुरुङको नेतृत्वमा गोर्खा जनमुक्ति मोर्चाको एउटा टोली कोलकाता भ्रमणमा रहेका छन्।
यसै भ्रमण अवधि उक्त टोलीले आज पश्चिम बंगाल तृणमूल कांग्रेसको सेक्रेटरी जेनरल श्री पार्थ च्याटर्जीसँग भेट गरेको छ। हाल मुख्य मन्त्री ममता ब्यानर्जी राज्य बाहिर रहेकी हुनाले यो भेटघाटको क्रममा बिशेष गरी प्रतिनिधि टोलीले श्री च्याटर्जीसँग भेट गर्दै पहाड, तराई र डुवर्सको राजनैतिक समाधान बिषयमा कुरा राखेका छन्। स्वयं मुख्यमन्त्री ममता ब्यानर्जीले २६ अक्टोबर २०२१ को दिन खरसाङको प्रशासनिक बैठकबाट यहाँको राजनैतिक दलहरुलाई राजनैतिक समाधान बिषयमा आफ्नो विचार राख्ने अनुरोध गरेको स्मरण गराउँदै यस बिषयमा सकारात्मक पहल शुरु गरिदिने अनुरोध गरेका छन्।
पञ्चायत चुनाउ हुनुपर्ने कुरा समावेश गर्दै राजनैतिक समाधान गरिंदा तराई र डुवर्सलाई पनि अन्तर्भुक्त गर्नु पर्ने जनाउँदै एउटा ज्ञापन पत्र पनि श्री च्याटर्जीलाई चढ़ाएका छन्। साथै राजनैतिक समाधान र जि टि ए चुनाव एकै बिषयसित परस्पर सम्बन्धित भएको हुनाले अनि जनतामा यसले अन्योलता श्रृष्टि गरिरहेकोले अब जिटिए होइन तर राजनैतिक समाधान पछि यसैको चुनाव गरियोस भनी अनुरोध राखियो।
अध्यक्ष बिमल गुरुङ सँगै महासचिव रोशन गिरी केन्द्रीय समितिका वरिष्ठ नेतृत्व डा. आरबी भूजेल, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ, केन्द्रीय समिति सदस्य सोनाम याखा प्रतिनिधि टोलीमा उपस्थित रहेका थिए।