संवाद प्रतिविम्ब
खरसाङ 6 जून।
गोर्खा जनमुक्ति मोर्चा विनय खेमाका नेतृत्वहरूमा फेरबदल हुने घोषणा गोजमुमो विनय खेमाका अध्यक्ष विनय तामाङले गरेका छन्। गत विधानसभा चुनावको परिणामलाई हेरेर तथा आगामी चुनावहरूलाई हेरेर उक्त फैसला लिइएको पनि विनय तामाङले जनाएका छन्। हालमा कोभिडको कारण पार्टीले आफ्नो राजनैतिक गतिविधिहरू केही दिनको लागि स्थगित राखेको र कोविडको महामारी साम्य भएपछि पार्टीभित्र फेरबदलको कार्यक्रम शुरू गरिने पनि उनले घोषणा गरेका छन्। यसबाहेक गोजमुमो विनय खेमा पार्टीभित्र रहिआएका 23 वटा भ्रातृ संगठनहरूलाई लिएर पनि समिक्षा गरिने पनि उनको भनाइ रहेको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङको घोषणा समष्टि विघटन हुनेछ
आज खरसाङ नगरपालिकाका उपाध्यक्ष अनि १४ जना पार्षदहरुसंगको बसिएको एउटा बैठकमा विनय तामाङले उक्त घोषणा गरेका हुन्। पहिलो चरणमा दार्जीलिङ अनि खरसाङ महकुमा अन्तर्गत विभिन्न समष्टिहरु विघटन गरी नेतृत्वहरूमा फेरबदल गरिने, दोस्रो चरणमा कालेबुङ जिल्ला अन्तर्गतको समष्टिमा फेरबदल हुनेछ अनि तेस्रो चरणमा गोजमुमोभित्र रहिआएका 23 वटा भ्रातृ संगठनहरूमाथि समिक्षा अनि फेरबदल गरिने तामाङले सभामा जानकारी गराए।
प्रत्येक चुनावले केही न केही शिक्षा दिन्छ। २०१९ को हारबाट पनि हामीले शिक्षा लिएका थियौ। यसै अनुरूप हामीले केही फेरबदल गरयौं। त्यसैले हामी २०२१ मा १९ भन्दा बलियो भएर आयौँ। हामी खरसाङ अनि दार्जीलिङ्गमा हार्यौ। कालेबुङ जित्नु सक्षम भयौं। अब अझै धेरै चुनावहरू लड़्नु छ। यसैले हामीले पार्टीलाई अझै बलियो बनाउनु जरूरी छ, सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय तामाङले भने।
यसपालिको चुनावमा हामीले पाएको भोट प्रतिशत हेर्नु हो भने विनय खेमा पहाड़मा नम्बर एक राजनैतिक दल रहेको बताउँदै पार्टीमा झै सुधार ल्याउनु अनि मजबूत बनाउनुको निम्ति फेरबदल गरिने निर्णय लिइएको पनि तामाङले सभामा बताए।