सम्वाद प्रतिविम्ब
कालेबुङ 25 मार्च।
आगामी विधानसभा चुनावमा कालेबुङबाट गोजमुमो विनय समूहको पक्षबाट खडा भएका उम्मेदवार रूदेन सादा लेप्चालाई मानिसहरूले समर्थन जनाउने क्रम जारी छ। यही क्रममा आज अलगडा भेन लाईन अनर एण्ड ड्राइभर्स वेलफेयर एसोसिएसनका सदस्यहरूले प्रार्थी रूदेन सादा लेप्चासँग भेट गर्दै समर्थन जनाए। प्रार्थी रूदेन लेप्चा एकजना असल,इमानदार,कर्तव्यनिष्ठ,दुर्दर्शी तथा समाजको क्षेत्रीय तहसम्म पुगेर काम गर्ने व्यक्ति रहेको भन्दै आफूहरूले राजनैतिक रूपमा होइन तर साङ्गठनिक रूपमा समर्थन जनाएको बताए।
समर्थन जनाउने क्रममा विविध समस्याबारेका ज्ञापनपत्र पनि प्रार्थी रूदेन लेप्चासमक्ष सुम्पिए। समर्थन जनाउने क्रममा एसोसिएसनको पक्षबाट सचिव सुरेश प्रधानको नेतृत्वमा उपाध्यक्ष गणेश तामाङ,जीवन शाक्य,रिञ्जी शेर्पा लगायत अन्य उपस्थित थिए।
यसरी नै ३८ नम्बर समष्टि अन्तर्गत लिङ्से,लिङ्सेखा अनि कागे क्षेत्रबाट खस हितकारी संगठनका प्रतिनिधि एवम् सदस्यहरूले कालेबुङ विधानसभा समष्टिका गोजमुमो विनय समूहका उम्मेदवार रूदेन सादा लेप्चासँग भेट गर्दै समर्थन जनाए।