संवाज प्रतिविम्ब
खरसाङ 28 जून।
राज्यको राज्यपाल जगदीप धनकड़ जीटीएमा धाँधली भएको छ भनी दिएको बयानमाथि जीटीएको पूर्व चेयरम्यान एंव गोजमुमो महासचिव अनित थापाले प्रतिक्रिया दिएका छन्। पूर्व चेयरम्यान अनित थापाले पत्रकारहरूसित कुराकानी गर्दै अडिटको कुरा पहिला पनि भएको हो, कुनै पनि व्यवस्थामा अडिटको अति नै जरुरी छ, मैले अडिटलाई जहिले पनि स्वागत गरेको छु भनी बताएका छन्। उनले जीटीएमा आन्तरिक अडिट भई नै रहेको छ र जहाँसम्म मेरो जानकारी छ जीटीएमा कस्ताे किसिमको काम भई रहेको छ, त्यो सबैलाई राम्ररी जानकारी भएको विषय हो र हामी अडिटलाई सदैव स्वागत गर्दछौं भनी बताएका छन्।
थापाले गभर्नरले पहाड आउँदा पहाडको हितको काम गरेर जानु पर्छ, राजनैतिक सोच राखेर आएर मात्र हुँदैन भन्दै महामहिमको भ्रमण अनि बयानले शान्त पहाडलाई उत्तेजित गर्ने र आन्दोलनको माहौल तयार गर्ने काम भएको म महसुस गर्दैछु भनी बताएका छन्। उनले दार्जीलिङ्ग पहाड अशान्त थियो, त्यो अशान्तिलाई शान्तिमा ल्याउने कार्य हामीले सबैलाई एक साथ लगेर गर्यौं र हामीले सबैसँग सन्तुलन राखेर काम गरेका हौं भनी बताए।
पत्रकारहरूलाई विभिन्न प्रश्नहरूको उत्तर दिँदै थापाले भविष्यमा पनि हामी दार्जीलिङ्ग पहाडलाई शान्तिमय राख्न चाहन्छौं, कुनै पनि परिस्थितिमा दार्जीलिङ्ग पहाड अब अशान्त हुँदैन भन्दै दार्जीलिङ्ग पहाडवासीलाई निवेदन गर्न चाहन्छु कि हामी विगत दिनमा धेरै झुक्कियौं र हामीलाई उचालेर हाम्रो पहाडलाई अशान्त पार्न धेरै खोज्यो,अब जो कोही पनि जस्तोसुकै विचार लिएर पहाड आउँछ, कसैको उत्तेजना गर्ने विचारतिर नलागेर हाम्रो पहाडलाई राम्रो पहाड बनाउनुतिर लाग्नु पर्छ भनी निवेदन गरे। उनले चुनावमा हार जीत हुन्छ नै, त्यसलाई स्वीकार गरेर पहाड कै निम्ति हामी काम गर्नु पर्छ, हामी प्रयास गरिरहेका छौं जुन धेरै मानिसले बुझ्दैछन् पनि भनी बताएका छन्।
गोजमुमो महासचिव थापाले उत्तर बंगाल राज्य विषय आफ्नो विचार राख्दै मलाई यो विषयमा केही भन्नु छैन कारण यो राज्य अनि केन्द्रको विषय हो र हामी सानो व्यवस्था चलाउछौं, हामी शान्तिसंग बस्न चाहन्छौं र हामीलाई अहिले चाहिएको प्रमुख कुरा नै शान्ति हो, यहाँको पर्यटन फस्टाउन हो भने शान्ति कायम राखेर नै फस्टाउन सकिन्छ, हाम्रो विकास अनि रोजगार बंगाल सरकारबाट नै आउँछ जब कि पहाडले अहिलेको बंगाल सरकारको पक्षमा भोट पनि हाल्दैन तरै पनि यहाँ विकास भई रहेको छ र रोजगारको दैलो खोलिँदै जाँदैछ भनी बताए।
उनले 2017 देखि हामीले जीटीए बोर्ड अफ एडमिनिस्ट्रेटरमार्फत धेरै विकासको कार्य गर्न सक्षम भएका छौं र आगामी दिनमा पनि पहाडले यस्तै विकासको अपेक्षा साँचेको छ भनी बताए।