संवाद प्रतिविम्ब
दार्जीलिङ 8 जुलाई।
बिमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले आज पनि पश्चिम बंगाल राज्यको श्रम मन्त्रीलाई भेटेर चिया श्रमिकहरूको विभिन्न समस्याहरुको समाधान गरिनु पर्ने विषयमा बातचीत गरेको जानकारी प्राप्त भएको छ।
श्रम मन्त्री बेचाराम मन्नालाई भेटेर प्रतिनिधि टोलीलेबन्द चिया कमानहरू खोल्नु पर्ने अनि त्यसको निम्ति झट्टै सबै स्टेक होल्डरहरुलाई लिएर सभा राखिनु पर्ने अनुरोध गरेका छन्। यसका साथै प्रतिनिधि टोलीले एउटा ज्ञापन पत्र पनि मन्त्रीलाई चढाएको छ जसमा श्रमिकहरुको संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर यूनियन एउटै मात्र रहेको र त्यो संगठन गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) को भातृ संगठनको रूपमा पञ्जिकृत रहेको जानकारी गराएको छ भने विगतमा पनि तत्कालीन श्रम मन्त्री मलय घटक अनि सह श्रम आयुक्तलाई यही संगठनको नामबाट पत्राचार गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरेको छ।
ज्ञापन पत्रमा 2008 देखिको संस्थापक सदस्यहरु सभापति, सचिव साथै कार्यालय संचालकहरु जम्मै आफ्नो संगठनमा रहेकोले अन्य कुनै अर्को डीटीडीपीएलयु नामको संगठन नरहेर एउटै मात्र रहेको र त्यो गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) कै रहेको पनि स्पष्ट उल्लेख गरेका छन्। प्रतिनिधि टोलीमा महासचिव रोशन गिरी, युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ अनि कालेबुङ जिल्ला समिति अध्यक्ष डा. आरबी भूजेल रहेको थियो।