सम्वाद प्रतिविम्ब
दार्जीलिङ, 16 मई।
वर्तमान समयमा बाहिरबाट प्रशासनको आँखा छलेर आफ्नो घर आएको थाह लागे उनीहरू विरूद्ध डिजास्टर म्यानेजमेन्ट एक्ट वा हत्याको प्रयासको मुद्दा लाग्नेछ। यसैले देशका विभिन्न राज्यहरूबाट आफ्नो घर आउनेहरूले प्रथमतः जीटीएद्वारा जारी गरिएको वेबसाइटमा लगअन गर्नैपर्छ। यसो नभए जीटीए वा जिल्ला प्रशासनलाई बाहिरबाट सिलगढ़ी आइपुग्नेहरूको समय तालिका केही थाह हुँदैन, यसैकारण बाहिरबाट पहाड़ फर्किने प्रत्येकले नै आफ्नो यात्राको समय आदिको विस्तृत जानकारी गराउन अनिवार्य ठहरिन्छ। यसपछि मात्रै उनीहरूको स्वास्थ्यको उचित जाँच गरेपछि उनीहरूलाई संस्थागत क्वारेन्टाइनमा राख्नुपर्ने हो वा होम क्वारेन्टाइनमा, त्यसको निर्णय हुनसक्छ।
हिजो राती सोम चियाबगानमा यसरी नै राती आउनेहरूको कुनै जानकारी पाइएको थिएन। यद्यपि, उनीहरूलाई खोजेर पनि निकालियो अनि उनीहरूको उचित स्वास्थ्य जाँच भएको छ। यसैले बाहिरबाट आउनेहरूलाई चिन्हित गर्न जीटीए, दार्जीलिङ र कालेबुङ जिल्ला प्रशासनलाई सजिलो परोस् भनेर नै जीटीएले वेबसाइट शुरू गरेको हो। ताकि कोही पनि कोरोना संक्रमित दार्जीलिङ पहाड़मा आउन नसकोस् अनि उनीहरूको समयमा नै उचित उपचार हुनसकोस् भन्ने जीटीएको चाहना हो।
यसरी नै उऩले दार्जीलिङ पहाड़ आउनेहरूका लागि जीटीएले सिलगढ़ीको तेञ्जिङ नोर्गे बस टर्मिनसलाई ट्रान्जिट स्टेशन अनि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनलाई ट्रान्जिट क्याम्प बनाइएको जानकारी गराउँदै देशका विभिन्न राज्यहरूबाट पहाड़ आउने प्रत्येकले नै यी ट्रान्जिट स्टेशन र ट्रान्जिट क्याम्पमा आफ्नो विस्तृत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको बताए। जसको लागि दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनको ट्रान्जिट क्याम्पमा अबेर राती आइपुग्नेहरूका लागि 50 वटा पलङको व्यवस्था गरिने भएको पनि जनाए। ताकि अबेर राती आउने टाड़ाकाहरूले त्यहीं रात बिताउन सकोस्। यस्तो ट्रान्जिट क्याम्पको व्यवस्था खरसाङ, कालेबुङ, मिरिक आदि क्षेत्रहरूमा पनि गरिएको उनले बताए। यसैबीच, उनले कुनै व्यक्ति उचित स्वास्थ्य जाँच प्रक्रिया पूर्ण गरेर होम क्वारेन्टाइन भनेर लेखिएको दस्तावेजको साथ आएका छन् भने उनलाई कसैले पनि रोक्न सक्तैन।
यस्तो अवस्थामा कसैले उनलाई होम क्वारेन्टाइनमा बस्न नदिए, त्यसबारे नजिकैको पुलिस थानामा जानकारी गराएको उचित हुनेछ। जीटीए सूत्रले हाल दैनिक 150 जति मानिस विभिन्न स्थानबाट दार्जीलिङ पहाड़ आइरहेको बताएको छ। होम क्वारेन्टाइनमा मानिसहरूलाई समस्या हुने विषयबारे प्रश्न गर्दा तामाङले भने-यसको लागि गाउँ समाजहरू नै अघि आउनुपर्छ, सार्वजनिक भवनहरूलाई क्वारेन्टाइन सेन्टरको रूपमा सञ्चालन गर्न सकिन्छ। तर स्कूल, कलेज आदिलाई क्ृवारेन्टाइन सेन्टरको रूपमा सञ्चालन गर्न सकिन्दैन।