खरसाङमा हिल तराई प्राथमिक शिक्षक एसोसिएशनको स्थापना दिवस एवम् शिक्षक सम्मान समारोह सम्पन्न
सम्वाद प्रतिविम्ब
खरसाङ 29 नोभेम्बर।
गोर्खा जनमुक्ति मोर्चा,अनित-विनय खेमाको भ्रातृ संगठनको रूपमा रहेको हिल तराई प्राथमिक शिक्षक संगठनको तेस्रो स्थापना दिवस एवम् शिक्षक सम्मान कार्यक्रम आज खरसाङको सन्त अलफन्सस स्कूलमा सम्पन्न भयो। सभामा मुख्य अतिथिको आशनबाट बोल्दै जीटीए अध्यक्ष अनित थापाले जबसम्म हामीले शिक्षामा क्रान्ति ल्याउँदैनौँ तबसम्म हाम्रो जाति अघि बड़नु सक्दैन भनी बताए।
तिनले यसै सन्दर्भमा उपस्थित शिक्षकहरूलाई आग्रह गर्दै पहाड़,तराई अनि डुवर्समा शिक्षामा क्रान्ति ल्याउने आग्रह गर्दै नत्र पहाड़लाई फेरि उही टेबल ठट्याउनेहरूले खत्तम पार्ने बताए। थापाले शिक्षकहरूको काम महत्वपूर्ण अनि गाह्रो पनि रहेको जनाउँदै यद्यपि हाम्रो जाति अनि नानीहरूको उज्जवल भविष्यको निम्ति अझ धेरै संघर्ष गरिदिने आग्रह गरे। तिनले भने-हाम्रो पहाड़को भविष्य हामीलेनै अघि लिएर जानुपर्छ। हामीले केवल जातिको निम्ति लड्यौ तर जातिको निम्ति लड़दा कसरी लड्यौ त्यो हामीलाई राम्ररी थाहा छ। हामीले सरकारले दिएको व्यवस्था ठीकसँगले चलायौँ त? प्रश्न गम्भीर छ। अध्यक्ष थापाले दागोपापको समयमा रीजनल एसएससी,इम्प्लोइमेन्ट एक्सचेंज सिस्टम आदि उड़ाएको उल्लेख गर्दै 1986 देखि यताको उपलब्धि शुन्य रहेको जनाए। आफूले कहिले ढाँटेर अनि आफ्नै दाजू-भाईलाई गाली गरेर राजनीति नगर्ने स्पष्ट पर्दै तिनलाई कसैके गाली गर्दा पनि कुनै फरक नपर्ने बताए।
आफ्नो सम्बोधनकै क्रममा अध्यक्ष थापाले प्राथमिक पाठशालाहरूमा रिक्त रहेको 652 शिक्षक पदमा आगामी महिना दिसम्बरमा पूरा गर्ने पनि बताए। यसहबाहेक जीटीएक्षेत्रमा रहेको 20 वटा प्राथमिक पाठशालाहरूमा पहिलो चरणको डिजिटल लर्निंग सिस्टम शुरू गर्ने घोषणा गरे। तिनले शिक्षक-शिक्षिकाहरूलाई भरोषा दिँलाउँदै पहाड़मा शिक्षाको स्तर बढ़ाउन आफ्नो पक्षबाट सबै प्रकारको सेवा र सहयोग गर्न आफू तत्पर रहने बताए। दार्जीलिङ शिक्षा परिषद्की अध्यक्ष छिरिङ दहालले अवकाश ग्रहण गर्ने सम्पूर्ण शिक्षक-शिक्षिकाहरूलाई तिनीहरूको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै तर अबको समय जाति र समाजको निम्ति दिने तथा आफ्नो माटो र भूमिलाई उर्वर पार्न खर्चिने अनुरोध गरिन्।
तिनले विगतमा लथालिङ भएका जीटीए व्यवस्थालाई अहिले आफूहरूले सम्हाल्न निक्कै गाह्रो परेको उल्लेख गर्दै यद्यपि यसैबाट पनि आफूहरूले यो पदभार सम्हालेदेखि यता धेरैको उपकार गरेको बताइन। तिनले डीआरएस भएर बसेका चालिस जनालाई काम दिन सकेको तथा आगामी चाँड़ै छब्बीस जना जसका आमा-बाबुको बद्लीमा काम दिने जानकारी पनि दिइन। दाहालले शिक्षा परिषदमा पर्खाइको तमाशा बन्द भएको जनाउँदै जो पनि अब अवकाश ग्रहण गर्छन उनीहरूले पाउने सहुलियत यथाशीघ्र उपलब्ध गराउने पनि आश्वस्त गराइन।
शिक्षक प्रकाश हाङखिम अनि पूनम प्रधानले सन्चालन गरेको समारोहमा अवकाश ग्रहण गरेका प्राय: अस्सीजना शिक्षक-शिक्षिकाहरूलाई संगठनको तर्फबाट खदा लगाएर,जातिय टोपी अनि शाल ओड़ाएर,स्मृति चिन्ह अनि सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। समारोहमा जीटीए बीओए सदस्यहरू अनु प्रधान,जैतून निशा लगायत गोजमुमो केन्द्रिय प्रवक्ता सतीश पोख्रेल लगायत अन्यहरूको विशेष उपस्थिति रहेको थियो। संगठनका सचिव पूर्ण बहादुर राईले स्वागत वक्तव्य राखेको समारोहमा गीत,नृत्य,कविता आदि प्रस्तुत गरियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष सन्तोष थापाले राखे।