दार्जीलिङ १३ जुलाई।
सूचना तथा साँस्कृतिक विभाग, जीटीएले दार्जीलिङ्ग स्थित गोर्खा रङ्गमञ्चमा आदिकवि भानुभक्त आचार्यको 210 औं जन्म जयन्ती भव्यरूपमा पालन गरयो भने सोही समारोहबीच विभिन्न विधामा लामो समयदेखि योगदान पुरयाउँदै आइरहेका विभूतिहरूलाई पुरस्कार पनि प्रदान गरयो।
पुरस्कार अलङ्करण समारोहलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले घोषणा गरे, “दार्जीलिङ गोर्खा पर्वतीय परिषदका पूर्व अध्यक्ष स्व. सुबास घिसिङको स्मृतिमा सर्वोच्च नागरिक सम्मान पुरस्कार प्रदान गर्ने घोषणा पनि गरे । उक्त घोषणा गर्दै अनित थापाले भने- सुवास घिसिङज्यू, जसले हाम्रो किपट हामीलाई दिएर जानु भयो । उहाँको सम्मान अनि स्मृतिमा आगामी वर्षदेखि उहाँको जन्म दिनमा ‘सर्वोच्च नागरिक सम्मान‘ पुरस्कार दिने घोषणा गर्दछु।”
भानु जयन्ती समारोहबीच आज विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरूलाई जीटीएको तर्फबाट विभिन्न पुरस्कारहरू प्रदान गरियो भने उक्त पुरस्कार वितरण पश्चात जीटीए मुख्य कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा भने, “भानुभक्त आचार्य नेपाली समाजको मार्गदर्शक हुन। उनले नेपाली साहित्यलाई ठूलो योगदान दिनु भएको सत्य छँदैछ। हाम्रो विद्यार्थीहरुलाई साहित्य तर्फ आकर्षित गर्न साहित्यिक प्रतियोगिताहरू आयोजना गर्नु पर्छ भनेर मैले बारम्बार भन्दै आएको हुँ। आजकल भानु जयन्ती एकदिनको कार्यक्रम भएर गएको छ। त्यसैले यस जयन्तीको औचित्य नै हराएर गएको छ। समय अनुसार टेक्नोलोजीको पनि विस्तार हुँदै गई रहेको छ। टेक्नोलोजीले पनि साहित्यलाई असर गर्छ। टेक्नोलोजीको सहायताले आफै कविता लेखिन्दैछ, निबन्ध लेखिन्दै छ। यदि साहित्यलाई बचाउँन हो भने हामीले स्कूल तहबाट कार्य सुरु गर्नु पर्नेछ।”
जीटीए द्वारा स्थापित विभिन्न विद्यामा पुरस्कारले अलंकृत हुनुहुने स्रष्टाहरू यसप्रकार रहेका छन्:
- भानुभक्त स्मृति पुरस्कार ( साहित्य): श्रीमती मातृका गजमेर, तीनधारे
- मास्टर मित्रसेन थापा स्मृति पुरस्कार ( लोक गीत): श्री आर सी मिजार, फुबछिरिङ्ग पाण्डम
- पादरी गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार (पत्रकारिता): श्री सञ्जय प्रधान, खरसाङ
- डी बी परियार स्मृति पुरस्कार ( नाट्य विद्या): ललित गोले, कालेबुङ
- जी डगलस स्मृति पुरस्कार ( चित्रकला): महेन्द्र थामी, दार्जीलिङ्ग
- समाजसेवी धनवीर मुखिया स्मृति पुरस्कार (मरणोपरान्त): स्वर्गीय जितेन्द्र बर्देवा ( सङ्गीतकार), दार्जीलिङ्ग
पुरस्कारले अलंकृत हुने उक्त विभूतिहरुलाई अभिनन्दन पत्र, स्मृति चिन्ह, अङ्ग वस्त्र, नगद राशी (50 हजार) पुरस्कार स्वरुप प्रदान गरियो।
गोर्खा रङ्गमञ्च भवनको उक्त कार्यक्रम पूर्व चौरास्तामा भानुभक्तको शालिगमा खदामाला अर्पण गरी कार्यक्रमको शुरूआत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा उदयन गुहा, माननीय मन्त्री, उत्तर बङ्गाल विकास विभाग, उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा जीटीएका प्रमुख कार्यपाल अनित थापाको उपस्थिति रहेको थियो। यसबाहेक जीटीए सभा अध्यक्ष अञ्जुल चौहान, जीटीए मुख्य सचिव सौम्य पुरकैत, दार्जीलिङ्ग जिल्लापाल प्रीति गोयल, पुलिस अधीक्षक प्रवीण प्रकाश, दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी, सभासद् अनोस थापा, साहित्यकार गोकुल सिन्हा, विन्द्या सुब्बा लगायत अन्यान्न पनि उपस्थित रहेका थिए।