सम्वाद प्रतिविम्ब
दार्जीलिङ २७ नोभेम्बर।
आज दार्जीलिङमा एउटा नयाँ राजनैतिक पार्टीको गठन भएको छ। आज दार्जीलिङको एक होटलमा सम्पन्न सभामा राष्ट्रीय गोर्खा आदिवासी मोर्चाको गठन गरिएको छ। उक्त नयाँ पार्टीको मुख्य उद्देश्य पहाड़ र तराई डुवर्सको चियाबारी श्रमिकहरूको अधिकारको लागि लड़ाई लड़ने भनिएको छ।
उक्त नयाँ राजनैतिक पार्टी राष्ट्रीय गोर्खा आदिवासी मोर्चाको अध्यक्षको रूपमा सिलगढी प्रधान नगरका अमीत सिंह चयन भएका छन्। त्यसरी नै सचिवको रुपमा सोनादाका प्रणय शेर्पा चयन भएका छन्। यस पार्टी गठन भएको सभामा लगभग 8 जना विभिन्न क्षेत्रहरूबाट उपस्थित भएका थिए। राष्ट्रिय गोर्खा आदिवासी मोर्चाको अध्यक्ष अमीत सिंहले दार्जीलिङमा पत्रकारहरूसित बोल्दै गोर्खा र आदिवासी यी दुई जाति नै पहाड़ तराई डुवर्समा रहेका चियाबारीहरूमा कार्यरत् छन्। त्यसैले गोर्खा आदिवासी जो चियाबारीमा कार्यरत् छन् उनीहरूको लागि कार्य गर्नलाई आजदेखि नयाँ पार्टी गठन गरिएको बताएका छन् ।
उनले यो नयाँ पार्टीको मुख्य उद्देश्य चिया श्रमिकहरूको समस्याहरू समाधनको लागि कार्य गर्नु रहेको पनि बताएका छन्। त्यसरी नै सचिव प्रणय शेर्पाले गोर्खा आदिवासी जातिको विभिन्न समस्याहरूलाई लिएर कार्य गर्न साथै चिया श्रमिकहरूको समस्याहरू समाधानको लागि कार्य गरी सठीक रुपमा सही टुंगोमा लानलाई यो नयाँ पार्टी गठन गरिएको पनि बताएका छन्। उनले चियाबारीका श्रमिकहरूको निम्नत्तम रोजगार अधिनियम र जमीनको मालिकाना हकको लागि पनि कार्य गर्ने बताएका छन्।