सम्वाद प्रतिविम्ब
दार्जीलिङ, 22 जून।
दार्जीलिङ पहाड़मा 100 वटा बेड रहेको प्रथम कोविड अस्पतालको आज विधिवत उद्घाटन भयो। जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन) अध्यक्ष अनित थापाले आज टिस्टा त्रिवेणीमा निर्माण गरिएको कोविड-19 अस्पतालको उद्घाटन गर्दै यसले दार्जीलिङ पहाड़का जनतालाई धेरै फाइदा पुग्ने बताए।
राज्य सरकारको सहयोगमा निर्माण गरिएको यस अस्पतालमा 150 वटा बेड रहे पनि हाल यहाँ 100 वटा बेडलाई मात्रै प्रयोगमा ल्याइने भएको पनि उनले बताए। थापाले भने-देशका विभिन्न स्थानहरूबाट हाम्रा मानिसहरू आफ्नो घर फर्किन थालेपछि नै दार्जीलिङ पहाड़मा पनि कोविड अस्पतालको निर्माण हुनैपर्छ भन्ने लागेको थियो। यसैले हामीले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसित दार्जीलिङ पहाड़मा 3 वटा कोविड अस्पताल निर्माण गर्नेबारे कुरा गरेका थियौं। जसलाई मुख्यमन्त्रीले पूर्ण सहमति जनाएर पहाड़मा 3 वटै अस्पताल निर्माण गर्ने अनुमति पनि प्रदान गरेकी छन्, जसमध्ये एउटाको आज उद्घाटन गरिएको हो। उनले लगभग डेढ़ महीनाको अवधिमा दार्जीलिङ र कालेबुङको फेदमा अवस्थित त्रिवेणीमा कोविड अस्पताल निर्माण गर्न सफलता पाएकोमा खुशी व्यक्त गर्दै यहाँ कोविड 4 स्तरसम्मका रोगीहरूको उपचार हुनसक्ने व्यवस्था रहेको पनि बताए। उनले भने-हामीले यहाँको सफाई, स्वास्थ्यकर्मी, उपचारको लागि आउने रोगीहरूका साथै अन्य कर्मचारीहरूको खानामाथि विशेष ध्यान दिनेछौं।
यसैबीच, जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तले हाल यस अस्पतालमा 3 वटा भेन्टिलेटर, स्वाब टेस्टको व्यवस्था, डायलसिसको सुविधाका साथै पर्याप्त स्वास्थ्यकर्मी, डाक्टरहरू उपलब्ध रहेको पनि जनाए। हाल कोविड 2 स्तरको लागि निर्माण भएको यस अस्पताललाई कोविड 4 स्तरसम्म बढ़ोत्तरी गर्न सकिने प्रावधानहरू रहेको पनि उनले जनाए। जहाँ हाल कोरोना संक्रमणको लक्षण भएकाहरूलाई भर्ना गरेर उपचार गरिने भएको छ।
स्मरण गराइन्छ, हालसम्म दार्जीलिङ पहाड़ अनि कालेबुङ क्षेत्रका सम्पूर्ण कोरोना संक्रमितहरूलाई उपचारको लागि सिलगढ़ीका डा. च्याङ सुपर स्पेशियलिटी अस्पताल, उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल अनि दिसान अस्पतालमा नै लानुपर्ने बाध्यता थियो। तर अब दार्जीलिङ पहाड़ अनि कालेबुङका कोरोना संक्रमितहरूलाई त्रिवेणीको यसै अस्पतालमा उपचार गर्न सकिने भएको छ।