क्षेत्रीय समाचारखरसाङ

तीनधारेको पैह्रो विभागले एकतर्फे खोल्यो  

संवाद प्रतिविम्ब

खरसाङ 26 जून।

 तीनधारेदेखि सिलगढीको मार्ग सुचारु बनाउन सम्बन्धित विभागले आज पैह्रोग्रस्त एक ठाउँमा  एकतर्फे बाटो खुलाएर सानो वाहनहरूको यातायात सुचारू बनाएको छ। एनएच 55 अन्तर्गत खरसाङको तीनधारेमा हिज गएको पैह्रोको कारण तीनधारेदेखि खरसाङ जाने मार्ग बाधित थियो।  आज उक्त ठाउँको भित्तापट्टि बाटो चौडा बनाएर यातायात सम्बन्धित विभागले यातायात सुचारु बनाउने काम गरेको छ।

माथिल्लो भागमा रेलको लिकपट्टि केही बाटो निकालेर सानो गाड़ीहरू कुद्न सक्ने बनाइएको छ भने तल्लोपट्टिको सड़क खोल्न भने अझैं कम्तीमा दुई तीन महिना समय लाग्न सक्ने देखिएको छ। उक्त ठाउँ एकतर्फे बाटो खोलिएपछि तीनधारेको क्रिकेट बजार भएर ओल्ड मिलिटेरी रोड हुँदै साना गाड़ीहरू सिलगढी जान सक्ने भएको छ। तर ठूलो गाड़ीहरू कुदाउनलाई भने एनएच 55 पूर्ण रुपमा बन्द नै रहेको छ। तीनधारेमा गएको पैह्रोले एनएच 55 बन्द भएपछि तीनधारे संलग्न क्षेत्रका चियाबारीहरूलाई पनि प्रभावित बनाएको छ। उक्त पैह्रोले तीनधारे क्षेत्रका जनसाधारणलाई मात्र होइन तीनधारे वरिपरिका लगभग 5 वटा जति चियाबारीहरूलाई पनि प्रभावित बनाएको छ।

चियाबारीहरूमा चियापत्ती उत्पादनको लागि चाहिने कोइला आउन नसक्ने तथा चियाबारीहरूमा उत्पादित चियापत्ती पनि बाहिर लान असुविधा हुने भएको छ। यस विषयमा जोगमाया चियाबारीको प्रबन्धक अविनाश पाण्डेले पत्रकारहरूलाई आफ्नो गुनासो अघि राखेका छन् । उनले पैह्रोग्रस्त एनएच 55 खोलाउन चाढ़ै पहल गरिदिने सम्बन्धित विभाग समक्ष अनुरोध पनि गरेका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!