दार्जीलिङ 8 मार्च।
जीटीए सेकेण्डेरी हेडमास्टर्स एशोसिएसन अनि संयुक्त माध्यमिक शिक्षक संगठन एकीकृत भएको छ। उक्त दुवैवटा संगठनहरू एकीकृत भएर युनाइटेड सेकेण्डेरी टिचर्स अर्गनाइजेशन गठन गरिएको छ। हिजो ७ मार्चको दिन मङपूमा उक्त दुईवटा शिक्षक संगठनहरूको संयुक्त बैठक बसिएको थियो भने उक्त संयुक्त बैठकमा लिइएको प्रस्तावअनुरूप अबउसो जीटीए सेकेण्डेरी हेडमास्टर्स एशोसिएसन अनि संयुक्त माध्यमिक शिक्षक संगठन अलग-अलग संगठन नभएर एउटै संगठनको रूपमा कार्य गर्ने निर्णय लिएको संगठनका संयोजक डा. मिलन तामाङले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। सोही निर्णय अनुसार अबउसो उक्त दुईवटा संगठन नभएर युनाइटेड सेकेण्डेरी टिचर्स अर्गनाइजेशन नाम गरेर एउटै संगठन बनी कार्य गर्नेछन् भनी मङपूको पेन्सनर्स कार्यालयको हलमा आयोजित उक्त सभामा पारित गरिएको डा. तामाङले जनाएका छन्।
डा. तामाङद्वारा प्रेषित गरिएको विज्ञप्तिमा जनाएअनुसार, गत 20 जनवरी 2023 को दिन पिण्टेल भिलेजमा जीटीएका मुख्य कार्यपाल श्रीमान अनित थापासित भेटवार्ता गरी उक्त दुईवटा संगठनलाई एउटै बनाउने निर्णय लिइएको थियो भने उक्त दिन नै जीटीए मुख्य कार्यपालको निर्देशमा नयाँ संगठन गठन गर्नको निम्ति दार्जीलिङको निम्ति डा. मिलन तामाङ, प्रधान अध्यापक रामकृष्ण शिक्षा परिषद् अनि कालेबुङको निम्ति विजय प्रधान, प्रधान अध्यापक, अलगढ़ा उच्चत्तर माध्यमिक विद्यालयलाई संयोजकको रूपमा चयन गरिएको थियो।सोही कार्यलाई निरन्तरता दिँदै मङपूमा जीटीए सेकेण्डेरी हेडमास्टर्स एशोसिएसन अनि संयुक्त माध्यमिक शिक्षक संगठनको संयुक्त बैठक बसी नयाँ संगठनको नामाकरण गरियो भने उक्त संगठनको पूर्णाङ्क कमिटी गठन गर्नको निम्ति एउटा स्टेयरिङ कमिटी गठन गरियो। उक्त स्टेयरिङ कमिटीमा जीटीए सेकेण्डेरी हेडमास्टर्स एशोसिएसन अनि संयुक्त माध्यमिक शिक्षक संगठनका 40 जना सदस्यहरू मनोनित गरिएको छ। उक्त स्टेयरिङ कमिटीले नयाँ संगठनको पूर्णाङ्क कमिटी बनाउने दिशामा पहल गर्नेछ।
हिजो बसिएको बैठकले नयाँ सगंठनको नाम युनाइटेड सेकेण्डेरी टिचर्स अर्गनाइजेशन पारित गरेको छ भने उक्त संगठनमार्फत् जीटीए क्षेत्रका हेडमास्टर्स अनि शिक्षकहरू एकीकृत भएर दह्रिलो रूपमा जीटीए क्षेत्रमा रहिआएका शिक्षासम्बन्धित विभिन्न समस्याहरूको समाधानको दिशामा पहल गर्ने पनि बैठकले प्रस्ताव पारित गरेको छ।