सम्वाद प्रतिविम्ब
खरसाङ 17 जून।
जीटीए सर्भिलेन्स टिमद्वारा खरसाङ खण्ड अन्तर्गत आज घैयाबारी ग्राम पञ्चायत तीनको विभिन्न क्षेत्रहरूमा कोरोना भाइरसको खतरालाई मध्य नजर राख्दै सचेतनामूलक रुपमा माइकिङ गरिने कार्य सम्पन्न भएको छ। जीटीए सर्भिलेन्स टिम तीनधारे महानदी समष्टिको आयोजनामा लगातार रुपमा समष्टिअन्तर्गत पर्ने ग्राम पञ्चायत क्षेत्रहरूमा कोरोना भाइरससित सचेत रहनलाई विशेष रूपमा माइकिङ गर्दै जनचेतना फैलाउने कार्य गरिएको छ।
यसैक्रममा आज घैयाबारी ग्राम पञ्चायत तीनको देवीझोडाबाट माइकिङ कार्यको शुरु गरेर घैयाबारी क्षेत्र, कालीमाट्टी र गोलकोटी क्षेत्र, जोगमाया चियाबारी, नयाँ कमान हुँदै रोहिणीको चिसो पानीसम्म पुगेर माइकिङ गरिएको छ। उक्त माइकिङ कार्यमा सर्भिलेन्स टिमबाट युवराज सुन्दास, सन्तोष लामा र विशाल प्रधानद्वारा विभिन्न क्षेत्रहरूमा पालैपालो माइकिङ गरी स्थानीय मानिसहरूलाई कोरोना भाइरसको विषयमा जनचेतना गराएका छन्।
यस माइकिङ कार्यमा सर्भिलेन्स कमिटी तीनधारे महानदी समष्टीको चिफ् को-अर्डिनेटर राजीव थापा, तीनधारेको संयोजक कर्म मोक्तान, युवा मोर्चा तीनधारे महानदी समष्टीका संयोजकद्वय केवल राई र प्रकाश थापा लगायत धिरेन प्रधान, सम्पल राई, विपन विश्वकर्म पनि उपस्थित थिए । आजको माइकिङ कार्य विषयमा बोल्दै सर्भिलेन्स टिम तीनधारेको सदस्य सन्तोष लामाले हामीले कोरोना भाइरस विषयमा मानिसहरूलाई जागरुक र सचेत गराउँदै माइकिङ गरिरहेको साथै यो क्रम केही दिन अघिदेखि खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायत क्षेत्रबाट शुरु गरेर आज घैयाबारी ग्राम पञ्चायत तीनका विभिन्न क्षेत्रहरुमा माइकिङ गरिएको बताएका छन् । उनले यो माइकिङ गर्नुको उद्देश्य कोरोना भाइरससित सचेत गराउन साथै देशको विभिन्न राज्यहरूबाट फर्कने मानिसहरूलाई सामाजिक दुर्व्यवहार नगर्ने तथा सामाजिक रुपमा सबैले मिलेर सहयोग गर्नु पर्ने सन्देश दिन्दै माइकिङ गरिरहेको पनि बताएका छन् ।
आजको मााइकिङ कार्यक्रमसितै सर्भिलेन्स कमिटी तीनधारे महानदी समष्टीको चिफ् को-अर्डिनेटर राजीव थापाको अगुवाईमा विभिन्न क्षेत्रहरूमा माक्सहरू पनि वितरण गरिएको छ।