खरसाङसाहित्य

यसपालिको दान खालिङ साहित्य सम्मान नेपाली साहित्यको वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिने

संवाद प्रतिविम्ब

खरसाङ, 4 दिसम्बर।

सिलगढ़ी नेपाली साहित्य संस्थानद्वारा प्रत्येक वर्ष प्रदान गरिने दान खालिङ साहित्य सम्मान यसपालि नेपाली साहित्यको वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिने भएको छ। प्रत्येक वर्ष सिलगढी नेपाली साहित्य संस्थानको स्थापना दिवस, गिरी जयन्ती तथा दान खालिङ जयन्तीको अवसर पारी 26 दिसम्बर तारिखका दिन प्रदान गरिने दान खालिङ साहित्य सम्मानका निम्ति उपयुक्त साहित्यकारको नाउँ छनौट गर्न गठन गरिएको चयन समितिको बैठक क्याफे ट्विन्स, सालबारी, सिलगडीमा बसेको थियो।

उक्त समितिको बैठकद्वारा यस वर्षको ‘दान खालिङ साहित्य सम्मान -2021’ वरिष्ठ साहित्यकार  नरबहादुर दाहाललाई प्रदान गर्ने निर्णय सर्वसम्मतिले लिएको जानकारी प्राप्त भएको छ। उक्त  सम्मानका रूपमा अङ्गवस्त्र, स्मृति चिह्न र नगद राशी रूपियाँ 20,000/-(बीस हजार रूपियाँ) खालिङ परिवारका वरिष्ठ सदस्यका बाहुलीबाट प्रदान गरिने छ। उक्त चयन समितिका सदस्य साहित्यकार मोहन ठकुरी, डा राजकुमारी दाहाल अनि प्रो बिनेश प्रधान रहेका थिए।

सभामा संस्थानका तर्फबाट अध्यक्ष वासुदेव पुलामी संयोजकका रूपमा उपस्थित थिए। आगामी 26 दिसम्बर 2021 को दिन उक्त सम्मान प्रदान गरिने छ भनी सिलगडी नेपाली साहित्य संस्थानको अध्यक्ष वासुदेव पुलामी र सचिव डप छिरिङ लेप्चाद्वारा प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।

फेसबुक मार्फत टिप्पणीहरू गर्नुहोस्
अधिक

सम्बन्धित खबर

Back to top button
error: Content is protected !!