खरसाङ 29 अक्टोबर।
गायन क्षेत्रमा रहेका कलाकारहरूलाई मञ्च प्रदान गर्दै खरसाङमा नमस्ते आईडल सिजन एक शुरु भएको छ। खरसाङको लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा उक्त नमस्ते आईडल सिजन एक शुरु भएको छ। खरसाङको क्याम्ब्रिज स्कूलको हलमा आईतबार अडिशन सम्पन्न भएको छ।
उक्त अडिशन राउण्डको कार्यक्रममा अतिथिको रूपमा अधिवक्ता रमेश अग्रवाल, समाजसेवी टीटी लामा, एसबी सुनुवार आदि उपस्थित रहेका थिए। अडिशन राउण्डको शुरुमा अतिथिहरूका बाहुलीबाट माता सरस्वतीको तस्वीरमा धुप द्वीप प्रज्वलन गरेर शुरु गरिएको थियो। समाचार वाचकद्वय विश्व सुब्बा र सुप्रिना गिरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सम्भाषण नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले राखेका थिए। नमस्ते आईडल सिदन एकको अडिशनमा निर्णायकको रूपमा लोक गायिका सुचिता खाती, संगीतकार सहदेव चामलिङ र संगीत संयोजक उपेन्द्र प्रधान अनि ग्राण्ड मास्टरको रूपमा वरिष्ठ संगीतकार महेश्वर लामा उपस्थित रहेका थिए।
यस अडिशन राउण्डमा कुनै संगीतबिना नै प्रतियोगीहरूले माइकमा गीत गाएका थिए। यस अडिशनमा दार्जिलिङ, सोनादा, चिमनी, सिलगढी, सालबारी क्षेत्रबाट जम्मा 19 जनाले अडिशन दिएका थिए। यसमा 19 बाट 15 जनालाई अघिल्लो चरणको लागि 15 जनालाई चयन गरिएको छ। यस नमस्ते आइडल सिजन एकको क्वाटर फाइनल आगामी 6 नोभेम्बरमा, सेमी पाइनल आगामी 8 नोभेम्बरमा र ग्राण्ड फिनाले अागामी 26 नोभेम्बरको दिन हुने भएको नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले बताएका छन्। उनले बताए अनुसार क्वाटर फाइनलमा ट्र्याकमा गीत गाउनु पर्ने र यो राउण्ड ओपेन राउण्ड रहनेछ भने 8 नोभेम्बरमा हुने सेमी फाइनल ट्रिब्युट राउण्ड हुनेछ।
यसमा हिन्दीमा हो भने हिन्दी फिल्म जगतका लिजेण्ट गायकहरू महम्मद रफी, किशोर कुमार, मुकेस, लता मंगेस्कर र आशा भोसलेको गीतहरु गाउनु पर्नेछ अनि यदि नेपालीमा हो भने नारायण गोपाल, अरूणा लामा, ओम बिक्रम विष्ट, हिरा वाईबा, भक्तराज आचार्यको गीतहरू गाउनु पर्ने रहेको छ। त्यसरी नै फाइनलमा यता स्थानीय वरिष्ठ गायक संगीतकारहरूका गीतहरू प्रस्तुत गरिनु पर्ने निर्देशक निर्मल गुरुङले बताएका छन्। उनले बताए अनुसार नमस्ते आईडल सिजन एकको विजेतालाई आकर्षक ट्रफीको साथमा नगदराशि 25 हजार प्रदान गरिने साथै दशजनालाई स्मृति चिन्ह्र प्रदान गरिने भएको छ।