अनित थापाको समर्थनमा भूतपूर्व सैनिकहरूले गरे परिवर्तन जनसभा अनि रयाली
सम्वाद प्रतिविम्ब
खरसाङ 19 दिसम्बर।
परिवर्तन रयालीको नाम गरेर गोजमुमो महासचिव एवं जीटीए अध्यक्ष अनित थापाले आगामी २६ दिसम्बरको दिन सोनादादेखि दार्जीलिङसम्म पैदलयात्रा गर्ने भएका छन्। थापाले खरसाङमा आज भएको भूतपूर्व सैनिक संगठनको जनसभालाई सम्बोधन गर्दै उक्त घोषणा गरेका छन्। ।
गोर्खा जनमुक्ति मोर्चा विनय खेमाको भातृ संगठन “भूतपूर्व सैनिक एवम् अर्धसैनिक संघको” आयोजनामा आज खरसाङमा “परिवर्तन जनसभा तथा रयाली” आयोजना गरिएको थियो। बिहान ११ बजीदेखि टुरिस्ट लजदेखि शुरु भएर मोन्टेभिट मैदानमा आएर सभामा परिणत भएको थियो भने व्यापक संख्यामा भूतपूर्व सैनिकहरू भेला भएका थिए।
अहिलेसम्म आफूहरूले पहाड़मा गरेका विकासका कार्यहरू र परिवर्तनको सोचलाई कतिजनाले साथ र सहयोग दिनेछन् तथा नयाँ सोच र नयाँ विचारलाई कतिजनाले साथ दिनेछन् उक्त कुरा बुझ्नको निम्ति पनि उनले परिवर्तन रयाली गरिरहेको बताएका छन् भने सोही रयालीलाई हेरेर नै भावी योजनाहरूको घोषणा गर्ने पनि उले बताएका छन्। २०१७ मा जुन नयाँ गोरेटो कोरेका थियौं, आज भूतपूर्व सैनिकहरूको उपस्थिति अनि समर्थनले हाम्रो काम साकार भएको ठान्छु भन्दै सबै आन्दोलनमा भूतपूर्व सैनिकहरूको योगदान थियो तर उनीहरूको योगदानलाई विगतमा कहिले कदर नभएको पनि थापाले बताए।
जीटीए चेयरम्यान अनित थापाले २००७ को आन्दोलन विमल गुरुङले सरकारसंग मिलेर सुबास घिसिङलाई पहाडबाट लखेट्ने आन्दोलन थियो, लिडरहरु सरकारसंग मिल्छ अनि आएर जनतालाई मुर्दाबादको नारा लगाउनु लगाउँछ भनी आरोप लगाउँदै २०१७ मा जीटीएमा अडिट हुने डरले आन्दोलन शुरु भएको र आन्दोलनको नाममा जनतालाई झुक्याउने काम भयो र झुक्याउने नेता हाम्रै नेता थिए भनी बताएका छन्।
कर्णेल केशव राई जस्तो पहाडलाई माया गर्ने, साहस अनि उत्साह बोक्ने मानिस हामीलाई चाहिएको छ। उहाँ अहिले जीटीए को सल्लाहकार रहेको बताए।पहाडको राजनैतिक संस्कारको कारण शिक्षित व्यक्तिहरु राजनीतिदेखि टाढा रहे। अब शिक्षित जमातलाई पनि राजनीतिमा आएर नेतृत्व दिने अपिल गर्छु,म जहाँ पनि जान्छु, हाम्रो नानीहरू शिक्षित भेट्छु तर प्राय सबै बेरोजगार छन। मलाई पहाडमा रोजगार दिनु छ। म भोट माग्नु गोर्खाल्यान्डको नाममा आउँदिन तर जसले समाजलाई बुझ्छ अनि सरकारलाई कुरा बुझाउनु सक्छ त्यस्तो उम्मेद्वार उठाउनेछौं भनी बताए।